तपाईँ सुन्दै हुनुहुन्छः

सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौवस्ताको २४औं स्थापना दिवस मनाइयो

बाँके। सशस्त्र प्रहरी बल नेपाल, सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौवस्ताले शनिबार २४औं स्थापना दिवस मनाएको छ।

शिक्षालय प्रमुख एसएसपी गंगाराम श्रेष्ठको अध्यक्षता र सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बंशीराज दाहालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा एआईजी दाहालले बदलिँदो समयसँगै देखा परेका चुनौतीहरू सामना गर्न सशस्त्र प्रहरीलाई सक्षम बनाउनेगरी काम भइरहेको बताउनुभयो। उहाँले सशस्त्र प्रहरीलाई प्रविधिमैत्री र समयसापेक्ष बनाउन तालिम शिक्षालयको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै अनुशासित, इमान्दार र कर्तव्यनिष्ठ भएर काम गर्न निर्देशन दिनु भयो।

कार्यक्रममा बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकाया, सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यावासिनी बाहिनीका डीआईजी दिपेन्द्र कुँवर, लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लोक बहादुर सुनार, र नेपाली सेनाको इमामनगरस्थित ४ नम्बर बाहिनीका बाहिनीपति प्रशान्त विक्रम राणालगायतले शिक्षालयको भूमिकाको प्रशंसा गर्नु भएको थियो ।

स्थापना दिवसको अवसरमा शहीद परिवारलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो। साथै, उत्कृष्ट कार्य गर्ने तथा विभिन्न विधाका खेलमा विजयी भएका सशस्त्र प्रहरी कर्मचारीलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रममा सहिद स्मारकमा पुष्पगुच्छा अर्पण तथा वृक्षरोपणसमेत गरिएको थियो। प्रमुख अतिथि एआईजी दाहाललाई शिक्षालय प्रमुख श्रेष्ठले मायाको चिनो प्रदान गर्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button