तपाईँ सुन्दै हुनुहुन्छः

डोल्पामा सामुदायिक विद्यालयहरूमा ई-पुस्तकालय स्थापना

डोल्पा । सूचना प्रविधिको विस्तारसँगै डोल्पाको ठुलीभेरी नगरपालिकाले सबै सामुदायिक विद्यालयमा ई-पुस्तकालय स्थापना गरेको छ।

डिजिटल शिक्षाको सुरुवात गर्ने उद्देश्यसहित नगरपालिकाले स्वलगानी र विभिन्न दातृ संस्थाको सहयोगमा प्रविधि विस्तारको अभियान थालेको हो। नगरपालिकाका अनुसार गत आर्थिक वर्षमा विशेष अनुदानमार्फत कम्प्युटर, ल्यापटप, प्रिन्टरलगायत न्यूनतम उपकरणहरू वितरण गरिएका थिए। ई-पुस्तकालयको पहुँच नभएका १४ विद्यालयमा सर्भर, राउटर र आवश्यक सामग्री स्थापना भइसकेको छ।

यसअघि साझेदार संस्था प्लान इन्टरनेशनल नेपाल, समाज जागरण केन्द्र नेपाल, साझा ई-पाटी नेपाल र बेल्जियम नेपालको सहकार्यमा केही विद्यालयमा ई-पुस्तकालय जडान भइसकेको थियो। नगरपालिकाले साझा ई-पाटी नेपाल र डोपो हिमालयन एजुकेशन रिसर्च सेन्टरसँगको सहकार्यमा सञ्चालनसम्बन्धी तालिमसमेत सम्पन्न गरिसकेको छ। प्रशिक्षक भरत बोहोराका अनुसार तालिममा १४ विद्यालयका सूचना प्रविधि शिक्षकहरू सहभागी थिए।

इन्टरनेट पहुँच अभाव रहेको डोल्पा जस्तो दुर्गम क्षेत्रमा अफलाइनमै सञ्चालन गर्न मिल्ने ई-पुस्तकालयमार्फत बालबालिकाले हजारौं डिजिटल पुस्तक, सन्दर्भ सामग्री, अडियो-भिडियो र इन्टरएक्टिभ शैक्षिक सामग्री पहुँच पाउने भएका छन्।

नगर प्रमुख श्वर्ण कुमार बुढाले स्थानीय सरकारले शिक्षामा लगानी गर्न पछि नपर्ने भन्दै गुणस्तरीय शिक्षाको सुनिश्चितता आवश्यक रहेको बताए। प्रमुख प्रशासकीय अधिकृत डिलप्रसाद रोकायाले ई-पुस्तकालय अभियानले डोल्पामा शैक्षिक नवप्रवर्तनको आधारशिला राख्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया राख्नुहोस्

Back to top button