तपाईँ सुन्दै हुनुहुन्छः

परराष्ट्रमन्त्री डा राणासँग बिम्स्टेकका महासचिवको शिष्टाचार भेट

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) का महासचिव इन्द्रमणि पाण्डेले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । 

सगरमाथा संवादमा सहभागी हुन काठमाडौँ आउनुभएका उहाँले आज यहाँ मन्त्री डा राणासँग ‘साइडलाइन’ भेट गर्नुभएको हो । त्यस अवसरमा बिम्स्टेकसँग नेपालले जलवायु परिवर्तनका क्षेत्रमा गर्न सकिने सहकार्य र समन्वयबारे कुराकानी भएको थियो । मन्त्री डा राणाले बिम्स्टेकका उद्देश्य र सिद्धान्तप्रति नेपालको प्रतिबद्धता दोहोर्‍याउनुभयो । 

यसैगरी मन्त्री डा राणासँग किर्गिस्तानका राष्ट्रपतिका विशेष दूत दिनारा कामेलोभाले पनि आज शिष्टाचार भेटवार्ता गर्नुभयो ।

सगरमाथा संवादका लागि नेपालमा रहनुभएकी निदाराले मन्त्री डा राणासँग आज होटल सोल्टीमा शिष्टाचार भेटवार्ता गर्नुभएको हो । भेटका क्रममा मन्त्री डा राणाले उहाँलाई सगरमाथा संवादमा सहभागिताका लागि धन्यवाद ज्ञापन गर्नुभयो । 

उक्त भेटमा किर्गिस्तान र नेपालको द्विपक्षीय सम्बन्धका साथै पर्यटन, कृषि, जलविद्युत लगायत क्षेत्रमा गर्न सकिने सहकार्यका बारेमा कुराकानी भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button