दासढुङ्गामा मदन–आश्रित स्मृति सभा सम्पन्न
चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितप्रति श्रद्धाञ्जली दिन आज दासढुङ्गामा स्मृति सभा सम्पन्न भएको छ ।

एमाले चितवनको आयोजना र मदन भण्डारी फाउण्डेशन चितवनको संयोजनमा भएको सभामा नेता कार्यकर्ताले नेता द्वयको शालिकमा माल्यार्पण गर्नुका साथै शब्दद्वारा श्रद्धासुमन व्यक्त गर्नुभएको थियो । दासढुङ्गा मदन–आश्रितको जिप त्रिशूलीमा खसेको स्थल हो ।
सो अवसरमा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले मदन भण्डारीमा वैचारिक क्षमता अद्भूत रहेको चर्चा गर्दै उहाँमा जुनसुकै कुरा बुझाउन सक्ने क्षमता रहेको बताउनुभयो ।

एमाले स्थायी कमिटी सदस्य एवं सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीले ‘जनताको बहुदलीय जनवाद’ तीन दशकको अभ्यासबाट प्रमाणित भइसकेको बताउनुभयो । जीवराज कुशल सङ्गठन हुनुका साथै आदर्श नेता पनि भएको उहाँको भनाइ छ ।
एमाले बागमती प्रदेशका अध्यक्ष कैलाश ढुङ्गेलले जेठ ३ लाई अँध्यारो दिनका रुपमा चित्रण गर्नुभयो । जीवराजका छोरा डा सागर न्यौपानेले आजको दिनलाई कालो दिनको सङ्ज्ञा दिँदै षड्यन्त्रपूर्वक देशी विदेशी शक्तिहरूले नेता द्वयको हत्या गरेको बताउनुभयो ।
कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य एवं चितवन जिल्ला इन्चार्ज देवी ज्ञवाली, केन्द्रीय सदस्य एवं बागमती प्रदेश संसदीय दलका नेता जेएन थपलिया, जिल्ला अध्यक्ष कमल पाठक लगायतले बोल्नुभएको थियो ।
विसं २०५० जेठ ३ गते नारायणगढ–मुग्लिन सडकखण्डको दासढुङ्गामा मदन–आश्रितको रहस्यमय जिप दुर्घटनामा निधन भएको थियो ।







प्रतिक्रिया राख्नुहोस्