पानीको मुहान संरक्षणमा जुट्दै स्थानीय सरकार
सल्यान । कुनै समय जहाँतहीँ कलकल बग्ने पानीका मुहानहरू हिजोआज सुक्न थालेका छन् ।

जलवायु परिवर्तन र मानवीय गतिविधिका कारण सल्यान जिल्लाका ग्रामीण क्षेत्रमा पानीको सङ्कट बढ्दै जान थालेको छ । वषौँदेखि उपयोग गर्दै आइरहेका धारा, कुवा इनार दिनप्रतिदिन सक्दै जान थालेका छन् । बाल्यकालमा पानीका मुहानसँग खेल्दै बिते पनि हाल नजिकका सबै मुहान सुक्दा पानीको अभाव झेल्नुपरेको सल्यानको दार्मा गाउँपालिका–१ का ४६ वर्षीय सेतीराम बुढाथोकीकोको भनाई छ । “गाउँघर नजिकै धारा कुवा थिए, आजभोलि सडकले हो वा मौसम परिवर्तनका असरका कारण हो खै बाजे जिजु बाजेले प्रयोग गर्दै आइरहेका धारा तथा कुवा सुकेर गई सके।” उहाँले भन्नुभयो ।
पानीका मुहान सुक्दै जान थालेपछि दैनिक जीवन निकै कठिन बनाएको दार्मा–२ का उदयराम खत्रीको भनाइ छ । उहाँका अनुसार अनुसार पुराना मुहानहरू क्रमशः लोप हुँदै गएपछि गाउँमा पानीको हाहाकार सामान्यजस्तै बनिसकेको छ ।पानीको अभावले सरसफाइसमेत समस्या भएको उहाँ बताउनुहुन्छ ।
नेपाल सरकारका अनुसार देशभर झण्डै ३८ प्रतिशत ग्रामीण बस्तीमा अझै भरपर्दो खानेपानी सेवा उपलब्ध छैन ।
जलवायु परिवर्तन, अनियमित वर्षा, रुख कटानी, र सडक निर्माणका क्रममा स्काभेटर प्रयोग जस्ता मानवीय गतिविधिले पानीका स्रोतहरू सुकाउँदै लगेका छन् । यस समस्यालाई ध्यानमा राख्दै दार्मा गाउँपालिकाले पानीका मुहानहरूको खोजी र संरक्षण कार्य अघि बढाएको दाबी गरेको छ । गाउँपालिका अध्यक्ष निमबहादुर केसीका अनुसार रिचार्ज पोखरी निर्माण, वृक्षारोपण र साना खानेपानी योजनाहरू जनश्रममार्फत सञ्चालनमा ल्याइएको छ ।
मुहान सुक्दै जानुले स्थानीय बासिन्दाको जीवनशैली मात्र होइन, स्वास्थ्य, शिक्षा, कृषि र समग्र भविष्यमा गम्भीर असर पारिरहेको छ । मुहान नजिकै सडक खन्न बन्देज गर्ने देखि मुहान संरक्षणका कार्यक्रम समेत ल्याएको उहाँको भनाई छ ।
खानेपानीका मुहान संरक्षणका लागि क्षति पुगेका खानेपानी योजनाहरू मर्मत गरिँदै छ भने सडक निर्माणका लागि स्काभेटरको प्रयोगमा प्रतिबन्ध लगाइएको वास संयोजक प्रकाश थापाले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्