तपाईँ सुन्दै हुनुहुन्छः

झापामा सशस्त्रको ‘एपीएफ’स्कुल बन्दै

झापा । झापाको कमल गाउँपालिकामा सशस्त्र प्रहरीको ‘एपीएफ’ स्कुल सञ्चालन हुने भएको छ ।

कमल गाउँपालिका–५, पाडाजुँगीस्थित सशस्त्र प्रहरी बल, नेपाल पाथीभरा जवान तालिम शिक्षालय, झापाको भोगाधिकार रहेको जमिनमा सञ्चालन हुने एपीएफ स्कूलको आज एक समारोहका बीच सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले शिलान्यास गर्नुभएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल कल्याणकारी सेवा केन्द्रबाट सञ्चालन हुने सो स्कूलको मुख्य उद्देश्य बहालवाला, कर्तव्यपालनाको सिलसिलामा वीरगति प्राप्त गरेका, अशक्त र अवकाशप्राप्त सशस्त्र प्रहरीका सन्ततिलाई शिक्षा दिने रहेको बताइएको छ । साथै,  सर्वसाधारणका सन्ततिसमेतलाई समयसापेक्ष आधुनिक र गुणस्तरीय शिक्षा प्रदान गरिनेछ । 

कमल गाउँपालिकाको सहयोगमा स्कूलको डीपीआर तयार भएको छ ।

आगामी आर्थिक वर्षबाट कक्षा ४ र ५ सञ्चालन भई आवासीय विद्यालयको रुपमा स्कुल सञ्चालनमा आउने पाथीभरा जवान तालिम शिक्षालयका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेश उप्रेतीले जानकारी दिनु भयो । साथै, आवश्यकता अनुसार भौतिक पूर्वाधार थप्दै जाने र कक्षा १२ सम्म सञ्चालन गर्ने योजना रहेको उहाँले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button