पन्ध्र वर्षपछि सक्रिय हुँदै बाँकेका पुराना खेलाडी
नेपालगञ्ज।राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा ख्याति कमाएका बाँकेका पुराना खेलाडी पुनः सक्रिय हुन थालेका छन् ।
बाँकेमा पूर्वखेलाडी सङ्घ गठन गरेर खेलकुदको विकास र यस क्षेत्रलाई खेलकुदमा चिनाउन भन्दै पुराना खेलाडी सक्रिय हुन थाल्नुभएको हो । भलिबलका पुराना राष्ट्रिय खेलाडी राकेश श्रीवास्तवले करिब १५ वर्षपछि आफू खेलकुदमा सक्रिय हुन थालेको जानकारी दिँदै सामाजिक उत्तरदायित्वका कारण पनि खेलप्रतिको निष्ठा कायम रहेको बताउनुभयो ।
उहाँले २०३० देखि २०४२ सालसम्म भलिबलको राष्ट्रिय खेलाडीका रूपमा योगदान गरेको उल्लेख गर्दै विगतमा जागिरे जीवन भएका कारण केही कठिनाई झेल्नुपरेको बताउनुभयो । “जिल्ला ओझेलमा परेकाले पनि यसलाई पुनः जगाउने प्रयास गरिएको छ”, उहाँले भन्नुभयो ।
पूर्वखेलाडी समाजका कार्यवाहक अध्यक्ष निजामुद्दिन सिद्दिकीले करिब १० वर्षपछि आफू खेलकुदमा सक्रिय हुन थालेको जानकारी दिँदै सबै ठाउँमा खेलकुदका कार्यक्रम भए पनि नेपालगञ्जमा कम हुन थालेको गुनासो गर्नुभयो ।
उहाँले २०३२ देखि २०५० सालसम्म फूटबल र हकीको खेलाडीका रूपमा खेल खेलेको उल्लेख गर्दै विगत केही वर्षअघि भारतको दक्षिण एसियाली खेलमा समेत सहभागी भएको बताउनुभयो ।
“सबै ठाउँमा केही न केही खेलकुद भइरहेको छ तर नेपालगञ्जमा पुराना खेलाडीको बाहुल्य रहे पनि खेलकुद नभएकाले त्यसलाई पुनः सक्रिय गराउन खोजिएको छ”, अध्यक्ष सिद्दिकीले भन्नुभयो । पूर्वखेलाडी समाज, बाँकेले आगामी जेठ ९ र १० गते ब्याडमिन्टन १६ देखि १८ गतेसम्म नेपालगञ्जमा भलिबल प्रतियोगिता आयोजना गर्न थालेको छ ।
ब्याडमिन्टनमा रु तीन लाख ५० हजार र भलिबल खेलमा रु चार लाख ५० हजार खर्च हुने समाजका अध्यक्ष निजामुद्दिन सिद्दिकीले जानकारी दिनुभयो । सो खेलका लागि नेपालगञ्ज उपमहानगरपालिकाले आर्थिक सहयोग गरेको छ ।
ब्याडमिन्टन अण्डर १५ मा प्रथम द्धितीय र तृतीयलाई रु १० हजार, पाँच हजार र रु दुई हजार ५००, मेन्स डबल्समा प्रथम, द्धितीय र तृतीय हुने टिमलाई रु २० हजार, १५ हजार र रु १० हजार पुरस्कार वितरण गरिने कावा अध्यक्ष सिद्दिकीले बताउनुभयो । नकआउट प्रणालीमा खेलाइने प्रतियोगितामा भलिबलतर्फ महिला र पुरूष गरी २५ टिम र ब्याडमिन्टनतर्फ ७५ खेलाडी सहभागी रहने छन् ।








प्रतिक्रिया राख्नुहोस्