बाँकेका हज यात्रीलाई बिदाइ तथा सम्मान
बाँके।साउदी अरबको मक्कामदिना हज गर्न जाने बाँकेका हज यात्रीलाई आज एक कार्यक्रमका बीच बिदाइ तथा सम्मान गरिएको छ। मुस्लिम समुदायद्वारा आयोजित कार्यक्रममा हज यात्रीहरूलाई माल्यार्पण, दोसल्ला ओढाउने, गम्छा, टोपी र खादा लगाएर सम्मान गरिएको हो।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा मुस्लिम इत्तेहाद संगठनका अध्यक्ष मोहम्मद हारुन हल्वाइले हज इस्लाम धर्मको पाँचौं आधारस्तम्भ भएको भन्दै यात्राको सफलताको कामना गर्नुभयो। उहाँले आर्थिक रूपमा सक्षम मुस्लिम समुदायका लागि हज अनिवार्य धार्मिक कर्तव्य भएको उल्लेख गर्नुभयो।

नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले हज यात्रीलाई शुभकामना दिँदै धार्मिक सद्भाव भंग गर्ने गतिविधि बढिरहेकोले सबै समुदाय चनाखो हुनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले धार्मिक सहिष्णुता र आपसी भाइचारा सबैको साझा जिम्मेवारी रहेको बताउनुभयो।

बीपी चोक क्षेत्रमा बेलुकीसम्म यात्रुहरूलाई बिदाइ गरिएको थियो। सयौँ आफन्तजन सहभागी भएका थिए। बिदाइको क्रममा लामो अंकमाल र भावुक क्षण देखिएको थियो। हज यात्रीहरूले आफन्तसँग भुलबस भएका गल्तीहरू भुलिदिन आग्रह गरेका थिए।
कार्यक्रममा नेपालगञ्ज उपमेयर कमरुद्दिन राइ, दारुल उलुम फैजुन्नबी जामा मस्जिद इदगाहका पूर्व अध्यक्ष हाजी अब्दुल रहमान मियाँ, हज समितिका पूर्व सदस्य मेराज हिमाल, मुस्लिम अगुवा, धर्मगुरु, समाजसेवी र स्थानीयवासीको उपस्थिति थियो।
यस वर्ष बाँकेबाट १५५ जना हजमा जाँदैछन्। तीमध्ये ७५ जना आज बसमार्ग हुँदै प्रस्थान गरेका छन् भने केही शनिबार विमानमार्फत काठमाडौं हुँदै हजमा जानेछन्।







प्रतिक्रिया राख्नुहोस्