जापानले नेपाललाई थप ५७ करोड ३० लाख येन अनुदान उपलब्ध गराउने
काठमाडौँ । ‘धुलिखेल अस्पताल ट्रमा एण्ड इमर्जेन्सी सेन्टर (आन्तरिक अनुदान) को सुधार परियोजना’ का लागि जापान सरकारले थप ५७ करोड ३० लाख येन अनुदान दिने भएको छ ।

आज अर्थ मन्त्रालयमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र जापानका संसदीय उपविदेशमन्त्री इकुइना अकिकोको उपस्थितिमा अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख धनिराम शर्मा र नेपालस्थित जाइकाका प्रतिनिधिबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
नेपाल सरकारको तर्फबाट अर्थमन्त्री पौडेल र जापान सरकारको तर्फबाट सगरमाथा संवाद कार्यक्रममा सहभागी हुन आउनुभएका संसदीय उपविदेश मन्त्रीसहित अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय, नेपालका लागि जापानका राजदूत मैदा तोरु रेलगायतको सहभागितामा सम्झौतामा हस्ताक्षर भएको अर्थ मन्त्रालयले जनाएको छ ।
अर्थमन्त्री पौडेलले नेपाल–जापानबिच स्वार्थरहित सम्बन्ध रहेको बताउँदै जापान नेपालको अत्यन्तै घनिष्ट मित्रराष्ट्र रहेको उल्लेख गर्नुभयो ।
अर्थमन्त्री पौडेलले जापानले नेपाललाई विविध क्षेत्रमा सहयोग उपलब्ध गराइरहेको स्मरण गर्दै धुलिखेल अस्पतालका लागि महत्त्वपूर्ण सहयोगका लागि नेपाल सरकारको तर्फबाट जापान सरकारलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
यस सहायताले देशको सबैभन्दा ठूलो चिकित्सा सुविधा र बृहत् क्षेत्रको चिकित्सा सेवाको हबका रूपमा रहेको धुलिखेल अस्पतालमा ट्रमा र आपत्कालीन केन्द्र र सम्बन्धित उपकरण निर्माण गरी नेपालको चिकित्सा सेवालाई सुदृढ पार्ने, स्वास्थ्य तथा चिकित्सा सेवाको गुणस्तरमा सुधार ल्याउने र आर्थिक वृद्धिमा योगदान पुर्याउने उद्देश्यले सहयोग उपलब्ध गराइएको नेपालस्थित जापानी दूतावासले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्