तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा पानीको मुख्य स्रोत हाते नल सुक्न थाले

बाँके । केही दिनयता बढेको गर्मीसँगै खडेरी र असह्य गर्मीले बाँकेको कोहलपुर, नेपालगन्ज र बैजनाथ क्षेत्रका स्थानीय बासिन्दा चरम सङ्कटमा परेका छन्। पानीको मुख्य स्रोत हाते नल सुक्न थालेपछि यहाँका नागरिकको दैनिकी प्रभावित भएको छ।

कोहलपुर नगरपालिका–४ गोवागाउँका स्थानीय बिस्मिल्ला खानले विगत केही दिनदेखि घरको हाते नलबाट पानी नआएको बताउँदै भन्नुभयो,

“पिउने पानीको लागि टाढाबाट बोक्नुपर्छ। कपडा धुने, भाँडा माझ्ने, नुहाउने सबै काम प्रभावित भएका छन्। यस्तो गर्मीमा पानी नै नहुँदा अवस्था निकै गम्भीर छ।”

नेपालगन्ज उपमहानगरपालिकाका साजिया बानो पनि पानीको चरम अभावमा जीवन धान्न गाह्रो भएको बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ,

“समस्या समाधानको लागि नगरपालिकामा गुनासो लिएर गएका थियौँ, तर कुनै सुनुवाइ भएन। हरेक वर्ष यस्तै हुन्छ तर स्थायी समाधान छैन।”

चर्को गर्मी र सुक्खा वातावरणका कारण बाँके जिल्लाका कोहलपुर, नेपालगन्ज, खजुरा, बैजनाथ, नरैनापुर, राप्ती सोनारी जस्ता पालिकाहरूमा पानीको अभाव सामान्यजस्तै बन्दै गएको छ। हरेक वर्ष हाते नल सुक्ने समस्या बढ्दै गएकाले दीर्घकालीन समाधानतर्फ स्थानीय तहले गम्भीर पहल गर्न आवश्यक रहेको स्थानीयको माग छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button