रारा गोल्डकप : एलएक्स सिटी विजयी
धनकुटा । धनकुटाको राजारानीमा जारी १२ औँ संस्करणको रारा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा एलएक्स सिटी फुटबल क्लब मोरङ विजयी भएको छ ।

रारा फुटबल क्लब राजारानीको आयोजनामा भइरहेको प्रतियोगितामा धनकुटाको डाँडाबजार फुटबल क्लबलाई २–० गोलले पराजित गर्दै एल एक्स सिटि विजयी भएको हो । धनकुटाको चौबिसे गाउँपालिकाको राजारानीको पुण्य माविको खेलमैदानमा भएको प्रतियोगिताको मङ्गलवार सम्पन्न खेलमा एलएक्स सिटीले १३ औँ मिनेटमा अभिषेक ठकुरीको गोलबाट अग्रता लिएको थियो । त्यसपछि खेलको ५० औ मिनेटमा एलएक्सकै अरुण तामाङले गोल गर्नुभएको थियो ।
खेलको म्यान अफ द म्याच एलएक्स सिटीका प्रदीप लामा घोषित हुनुभयो । उहाँले नगद ७ हजार ५ सय पुरस्कार पाउनुभएको छ । प्रतियोगिताको तेस्रो खेल बुधबार साविक विजेता सलहेश फुटबल क्लब सिराहा र विर्तामोड युनाइटेड क्लब झापा बीच हुने आयोजकले जनाएको छ ।
आगामी जेठ ४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद ७ लाख र उपविजेताले ३ लाख रुपैयाँसहित ट्रफि मेडल, कप, प्रमाणपत्र हात पार्ने आयोजकले जनाएको छ । यस्तै हरेक विधाका सर्वोत्कृष्ट खेलाडीले जनही १० हजार नगद हात पार्ने आयोजक समितिका संयोजक मणि चेम्जोङले जानकारी दिनुभयो । धनकुटाको प्रतिष्ठित प्रतियोगिता मानिने रारा गोल्डकप ०५८ सालबाट सञ्चालन गर्न थालिएको हो ।








प्रतिक्रिया राख्नुहोस्