‘शिक्षकका माग अनुसार ऐन निर्माणको काम भइरहेको छ’
चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले शिक्षक महासङ्घका माग सम्बोधनका लागि सरकारले ऐन निर्माणको काम सुरु गरेको बताउनुभएको छ ।

नेपाल शिक्षक सङ्घको ३६ औँ स्थापना दिवसको अवसरमा क्यान्सर रोगका बिरामीहरूलाई फलफूल वितरणपछि बोल्दै उहाँले शिक्षकका मागहरू सम्बोधनका लागि सरकारले काम गरिरहेको बताउनुभयो ।
शिक्षकका मागका सम्बन्धमा सरकार पक्ष र प्रतिपक्ष सबै एक ठाउँ भएर अघि बढ्ने उहाँको भनाई थियो । सङ्घले आज आफ्नो स्थापना दिवसको अवसरमा विपी कोइराला मेमोरीयल क्यान्सर अस्पतालमा भर्ना भएका बिरामीलाई फलफूल वितरण गरेको हो ।
मन्त्री पाण्डेले अस्पतालको आकस्मिक तथा अन्तरङ्ग विभागमा रहेका बिरामीहरूलाई फलफूल वितरण गर्नुभएको थियो ।
अस्पताल सञ्चालक समितिका अध्यक्ष डा. विजयराज न्यौपाने, कार्यकारी निर्देशक डा. शिवजी पौडेल, उपनिर्देशक डा. उमेश नेपाल सहितका अस्पतालका चिकित्सक कर्मचारीहरूलाई बिरामी र आफन्तले उपचारमा दुःख पाउन नहुने भन्दै उहाँले सेवालाई सर्वसुलभ बनाउन आग्रह गर्नुभयो ।
अस्पतालका कार्यकारी निर्देशक पौडेलले अस्पतालका सेवा सुविधासँगै भोग्नुपरेका समस्याका बारेमा जानकारी गराउनुभएको थियो ।
फलफूल वितरण कार्यक्रममा नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनाल, निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, बागमती प्रदेश सभा सदस्य उत्तम जोशी लगाएतको उपस्थिति रहेको सङ्घकी अध्यक्ष इन्दिरा मरहट्ठाले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्