पञ्चेबाजा संरक्षणमा युवा पुस्ताको चासो

बाजुरा । बाजुरा लगायत सुदूरपश्चिमका जिल्लामा परम्परागत रूपमा प्रचलित मौलिक पञ्चेबाजा लोपोन्मुख अवस्थामा पुगेपछि युवा पुस्ता यसको संरक्षणमा जुट्न थालेका छन्।
बडिमालिका नगरपालिका–५ का पञ्चेबाजा वादक जङ्ग नेपलीका अनुसार, युवा पुस्ताले यस पेशाप्रति चासो नदेखाउनु र यसैबाट जीविका चलाउन सकिने अवस्था नरहेकाले पञ्चेबाजा संकटमा परेको हो। तर सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण मानिने पञ्चेबाजा जोगाउन अहिले युवाहरू नै अगाडि आएका छन्।

करिब डेढ दशकअघि बाजुराका गाउँ–गाउँमा विवाह, व्रतबन्धजस्ता शुभ कार्यमा पञ्चेबाजा अनिवार्यजस्तै थियो। पछिल्लो समय भने फ्याटफुटजस्ता आधुनिक बाजा बजाउने चलन बढेपछि पञ्चेबाजा ओझेलमा परेको छ। यद्यपि हाल सदरमुकाम मार्तडीसहित ग्रामीण भेगहरूमा पुनः पञ्चेबाजाको प्रयोग बढ्न थालेको मार्तडीका युवा वादक बल नेपलीले जानकारी दिनुभयो।
पश्चिमी संस्कृतिप्रतिको बढ्दो आकर्षणले परम्परागत पञ्चेबाजा विस्थापित गरिरहेको उहाँहरुकाे भनाइ छ। साथै, तीनै तहका सरकारले कला–संस्कृति संरक्षण योजनामा पञ्चेबाजालाई समावेश नगरेकाले पनि चासोको अभाव महसुस भएको त्रिवेणी नगरपालिका–९ पैमाका धर्म नेपलीको भनाइ छ।

करिब ३० वर्षदेखि पञ्चेबाजा बजाउँदै आउनुभएका धर्म नेपली भन्नुहुन्छ, “पहिले पञ्चेबाजा बजाएरै घरखर्च चल्थ्यो, अहिले त्यो अवस्था छैन।” तर युवा पुस्ताले देखाउन थालेको चासोले भविष्यमा पञ्चेबाजा हस्तान्तरण र संरक्षणको दिशा सकारात्मक हुने सरोकारवालाहरूको बुझाइ छ।








प्रतिक्रिया राख्नुहोस्