तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल–बंगलादेश महिला पत्रकारबीच साझा सञ्जाल निर्माणमा जोड

ढाका, बंगलादेश । नेपाल र बंगलादेशका महिला पत्रकारबीच साझा चासो र चुनौतीमा आधारित सञ्जाल निर्माणको आवश्यकता औंल्याउँदै ढाकामा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ।

इनिसियटिभ्स अफ मिडिया वुमन (IMW) र बंगलादेशस्थित नेपाली राजदूतावासको सहकार्यमा दूतावासकै सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले सञ्चार क्षेत्रमा महिलाको सहभागितामा अझै पनि संरचनागत र सामाजिक अवरोधहरू कायम रहेको बताइन्।

उपसभामुख रानामगरले आफू सामाजिक कार्यकर्ताका रूपमा सञ्चारकर्मी महिलाले भोग्दै आएका समस्याको निकट साक्षी रहेको उल्लेख गर्दै भनिन्, “महिला पत्रकारहरूले भोगेका चुनौतीको समाधानका लागि नेपाल र बंगलादेशका सञ्चारकर्मी महिलाबीच साझा प्रयास आवश्यक छ।”

कार्यक्रममा बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले महिला पत्रकारहरूले आवाजविहीन तथा पछाडि पारिएका समुदायका कथाहरू उठाउन खेलेको भूमिकाको प्रशंसा गर्दै यस्ता अन्तरक्रियाले दुई देशबीचको सम्बन्धलाई जनस्तरमै मजबुत बनाउने विश्वास व्यक्त गरे।

IMW की अध्यक्ष लक्ष्मी भण्डारीले कार्यक्रमबारे जानकारी दिँदै सञ्चार क्षेत्रमा महिलाहरूको बढ्दो सहभागिता र उनीहरूले पुर्‍याउँदै आएको योगदानलाई अझ मजबुत बनाउन यस्ता अन्तरक्रियात्मक कार्यक्रमले सहयोग पुर्‍याउने बताइन्। उनले दुई देशका महिला पत्रकारले साझा मुद्दा पहिचान गर्दै दीर्घकालीन मित्रता निर्माण गर्नु आवश्यक रहेको धारणा राखिन्।

कार्यक्रममा दक्षिण एशियाकै सबैभन्दा ठूलो महिला सामाजिक संस्था ‘ठेंगमारा महिला सबुज्ज संघ (TMSS)’ की संस्थापक तथा कार्यकारी निर्देशक प्रा. डा. हुस्ने आरा बेगमले यस प्रकारको अन्तरक्रियात्मक कार्यक्रम पहिलो पटक भएकोमा खुसी व्यक्त गर्दै भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिइन्।

कार्यक्रममा नेपाल र बंगलादेशका ५० भन्दा बढी महिला पत्रकारहरूको सहभागिता रहेको थियो। सहभागीहरूले पत्रकारिता अभ्यासका क्रममा भोगिएका चुनौती, कार्यस्थलमा समानता र सुरक्षाका विषयमा आवाज उठाएका थिए।

अफिफा जाहन (The Daily Country Today), रुकिया इस्लाम (The Business Standard), मौसमी इस्लाम (The Daily Sun), मुनिमा सुल्ताना (Financial Express), फिमिता आख्तर (Channel i), कास्फिया आलोम झिलिक (Ajker Patrika) लगायत बंगलादेशका प्रतिष्ठित सञ्चार माध्यममा कार्यरत महिला पत्रकारहरूको उपस्थिति रहेको थियो।

सहभागीहरूले नेपाल–बंगलादेशका महिला पत्रकारबीच स्थायी सञ्जाल निर्माण गरी सूचना आदान–प्रदान, तालिम, अनुभव साझा, र साझा अभियानमा काम गर्न सकिने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button