२५६९औँ बुद्धजयन्ती : लुम्बिनीमा विशेष समारोह, प्रधानमन्त्री ओली लुम्बिनी जाँनुहुँदै
काठमाडौं । आज २५६९औँ बुद्धजयन्ती देशभर विविध कार्यक्रमका साथ श्रद्धा, भक्ति र शान्तिको सन्देशका साथ मनाइँदैछ। शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण (मृत्यु) एकै दिन – वैशाख शुक्ल पूर्णिमाका दिन परेकाले यस दिनलाई विशेष त्रिसंयोग दिवसको रूपमा मनाउने परम्परा छ।
लुम्बिनी, स्वयम्भू, बौद्ध लगायतका प्रमुख बौद्ध स्थलमा भव्य पूजा, आराधना, प्रवचन तथा शान्तिसन्देशमूलक कार्यक्रम आयोजना हुँदैछन्। चैत्य, गुम्बा, विहारमा बौद्ध धर्मगुरु र लामाले परम्परागत विधिअनुसार पूजा तथा ध्यान कार्यक्रम गर्दैछन्।
भगवान बुद्धको जन्म २६४९ वर्षअघि, ई.पू. ६२३ मा हालको रुपन्देही जिल्लास्थित लुम्बिनीको सुन्दर बगैचामा राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रूपमा भएको थियो। राजकुमार सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा सुख–सयल त्यागी दुःख निवारणको खोजीमा तपस्याको बाटो समात्नुभएकाे थियाे। तपस्याबाट प्राप्त ज्ञानपछि बुद्धत्व प्राप्त गरी उहाँले विश्वशान्तिका लागि अमूल्य सन्देशहरू फैलाउनुभएकाे थियाे।
“अहिंसा नै शान्ति र मैत्रीको आधार हो” भन्ने कालजयी वाणीका साथ भगवान बुद्ध आज पनि विश्वभर शान्तिका प्रतीकका रूपमा पूजित हुनुहुन्छ।
बुद्धजयन्ती तथा लुम्बिनी दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली आज लुम्बिनी जाँदैहुनुहुन्छ। प्रधानमन्त्रीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, प्रतिनिधिसभा र प्रदेशसभा सदस्य तथा विभिन्न देशका राजदूतहरू पनि समारोहमा सहभागी हुने कार्यक्रम छ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाका अनुसार त्रिदिवसीय विशेष कार्यक्रममार्फत बुद्धजयन्तीलाई विशेष महत्वका साथ मनाउन थालिएको हो। लुम्बिनी बौद्ध दर्शनको उत्पत्तिस्थल भएकोले यस दिनलाई अन्तर्राष्ट्रिय रूपमासमेत व्यापक रूपमा मनाइन्छ।
प्रतिक्रिया राख्नुहोस्