पिकअप भ्यान दुर्घटना हुँदा प्रहरी सहायक निरीक्षकको मृत्यु

उदयपुर । सुनसरीको दुहबीमा भएको सवारी दुर्घटनामा परि उदयपुरका एक जना प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ ।
सुनसरीको दुहबी नगरपालिका–३ स्थित फुटानी चौकमा दाउरा बोकेको पिकअप दुर्घटना हुँदा एक जनाको ज्यान जानुका साथै दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।
इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्र२–०१–००१च ०२५१ नम्बरको दाउरा बोकेको पिकअप भ्यान आफैँ अनियन्त्रित भई सडकको बायाँ किनारमा रहेको फलामको रेलिङमा ठोक्किएर दुर्घटना हुँदा उदयपुरमा कार्यरत उदयपुरकै त्रियुगा नगरपालिका–८ राजाबासका ३० वर्षिया प्रहरी सहायक निरीक्षक विरोध खतिवडाको मृत्यु भएको हो ।
दुर्घटना परि चालक उदयपुरको चौदण्डीगढी नगरपालिका ६ बस्ने वर्ष ३८को सुरेश कार्की र उनकी १४ वर्षीया छोरी रोजिना घाइते भएका छन् । उनीहरूको विराट टिचिङ अस्पताल बूढीगंगा मोरङमा उपचार भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।
दुर्घटनामा मृत्यु हुने प्रहरी सहायक निरीक्षक नेपाल प्रहरी नारायणहिटी सुरक्षा गारद गुल्म काठमाडौँ दरबन्दी भई जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत हुनुहुन्थ्यो ।
प्रतिक्रिया राख्नुहोस्