छपालीमा निर्माणाधीन प्रसूति गृहको भवन लामो समयदेखि अलपत्र
डोटी । डोटीको सायल गाउँपालिका–१ छपालीमा निर्माणाधीन प्रसूति गृहको भवन लामो समयदेखि अलपत्र परेको छ।
२०७८ साल फागुन ११ गते सायल गाउँपालिका र भैरव शक्ति निर्माण सेवाबीच ४० लाख ८० हजार रुपैयाँको लागतमा भवन निर्माणका लागि सम्झौता भएको थियो। सम्झौताअनुसार २०८० साल असार मसान्तभित्र निर्माण सकिनुपर्ने थियो। तर अहिलेसम्म करिब ७० प्रतिशत मात्रै काम सम्पन्न भएको छ।
भवन निर्माण अलपत्र परेपछि गर्भवती र सुत्केरी महिलाहरू अहिले पनि जीर्ण टिनको छानो भएको पुरानो भवनमै स्वास्थ्य सेवा लिन बाध्य छन्।
छपाली स्वास्थ्य चौकीका इञ्चार्ज पुनम भट्टले उपयुक्त भवन नहुँदा सेवा प्रवाहमा कठिनाइ भएको बताउनुभयो। वडाध्यक्ष लाल बहादुर रोकायाले गाउँ कार्यपालिकामा पटक–पटक आवाज उठाउँदा पनि सुनुवाइ नभएको गुनासो गर्नुभयो।
निर्माण कार्यमा खटिएका स्थानीय कामदार तथा व्यवसायीहरूले ११ लाख १६ हजार रुपैयाँ बराबरको ज्याला र सामग्री आपूर्तिको भुक्तानी नपाएको बताएका छन्। निर्माण कम्पनीले सहायक ठेकेदार तेज खड्कालाई निर्माण कार्य सम्पन्न गने जिम्मा दिइएको भएपनि खड्का अहिले सम्पर्कविहीन रहनुभएको छ।
भैरव शक्ति निर्माण सेवाका सञ्चालक शिव खड्काले आफूले गाउँपालिकामा ३२ लाखको बिल दिएको भए पनि २१ लाख मात्र भुक्तानी पाएको बताउनुभयो। बाँकी रकम नपाउँदा काम अघि नबढेको उहाँको भनाइ छ।
सायल गाउँपालिका अध्यक्ष धर्मराज जोशीले निर्माण व्यवसायीसँग पटक–पटक सम्पर्क गर्दा पनि काम नसकिएको र अब कानुनी प्रक्रिया अघि बढाएर आगामी आर्थिक वर्षभित्र भवन निर्माण सम्पन्न गरिने जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्