महेन्द्रनगर विमानस्थल पुनर्निर्माणमा बजेटको माग गर्दै मन्त्री पाण्डेलाई ध्यानाकर्षण पत्र
महेन्द्रनगरमा मन्त्री पाण्डेलाई ध्यानाकर्षण पत्र : मझगाउँ विमानस्थल पुनर्निर्माणमा बजेट र निर्णयको माग ।।
कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगर मझगाउँ विमानस्थलको पुनर्निर्माण कार्यलाई गति दिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेलाई ध्यानाकर्षण पत्र बुझाइएको छ । कञ्चनपुर जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहरा र भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीको अगुवाइमा विमानस्थल पुनः सञ्चालन समिति मार्फत मन्त्री पाण्डेलाई औपचारिक ध्यानाकर्षण पत्र हस्तान्तरण गरिएको हो ।
ध्यानाकर्षण पत्रमा उल्लेख भएअनुसार, वि.सं. २०२३-२४ मा निर्माण भई २०५६ सम्म सञ्चालनमा रहेको महेन्द्रनगर विमानस्थललाई पुनः निर्माण तथा विस्तार गर्ने उद्देश्यले वि.सं. २०७७ फागुन ३ गते तीन तहका सरकारहरूबीच सहलगानीका लागि सम्झौता (MOU) भएको थियो । उक्त सहमतिअनुसार भीमदत्त नगरपालिकाको १५%, दोधाराचाँदनी नगरपालिकाको १०%, सुदूरपश्चिम प्रदेश सरकारको २५% र सङ्घीय सरकारको ५०% योगदानमा निर्माण कार्य अघि बढाइएको हो ।
२०७७ फागुन १८ गते ठेक्का आह्वान र २०७८ असार ११ गते ठेक्का सम्झौता भएपछि २०७८ पुस २५ देखि निर्माण कार्य प्रारम्भ गरिएको थियो । तर विमानस्थलको दक्षिणतर्फको ६६५ मिटर क्षेत्रफल (रत्न वाटिका र नेपाली सेनाले प्रयोग गर्दै आएको खेल मैदान क्षेत्र) पूर्वघोषित विमानस्थल क्षेत्र भए तापनि आवश्यक बजेट अभाव र मन्त्रिपरिषद् निर्णयको ढिलाइले काम प्रभावित भएको पुनः सञ्चालन समितिको भनाइ छ । विमानस्थल पुनः सञ्चालन समितिका सचिव राजेन्द्र बहादुर चन्दले भन्नुभयो, “हामीले मन्त्रीज्यूसमक्ष विमानस्थलको समग्र अवस्था र अड्चनहरूबारे जानकारी गराएका छौँ । उहाँको कार्यकालमा नै विमानस्थल निर्माण सम्पन्न होस् भन्ने हाम्रो अपेक्षा छ ।”
उक्त ध्यानाकर्षण पत्र भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले मन्त्री पाण्डेलाई हस्तान्तरण गर्नु भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले ध्यानाकर्षण पत्र प्राप्त गर्दै विमानस्थललाई प्राथमिकतामा राखी आवश्यक निर्णय र बजेटको व्यवस्था मिलाउने प्रतिबद्धता जनाउनु भएको छ । उहाँले आगामी आर्थिक वर्षमा टर्मिनल भवन निर्माणका लागि बजेट विनियोजन गरी ठेक्का प्रक्रिया अघि बढाइने समेत आश्वासन दिनुभएको छ । शुक्रबार साँझ मन्त्री पाण्डे सहितको टोलीले मझगाउँ विमानस्थलमा भइरहेको पुनर्निर्माण कार्यको स्थलगत अवलोकन समेत गर्नुभएको हो ।
प्रतिक्रिया राख्नुहोस्