पाठ्यक्रममा आदिवासी जनजातिको इतिहास समेट्न अध्ययन अनुसन्धान थालियो

इलाम । पाठ्यक्रममा आदिवासी जनजातिको अवस्था, इतिहासलाई समेट्न आदिवासीको अध्ययन अनुसन्धान थालिएको छ ।
काठमाडौँ विश्वविद्यालयमा स्नातकोत्तर तहमा आदिवासीको शिक्षा र विकासलाई समेट्नका लागि जिल्ला जिल्लाबाट अध्ययन अनुसन्धान थालिएको हो ।
यसैक्रममा इलाम सदरमुकाममा काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशन ललितपुर र नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् इलामले काठमाडौँ विश्वविद्यालय स्नातकोत्तर तहमा आदिवासीको शिक्षा र बिकास कार्यक्रम सम्बन्धि छलफल तथा अन्तरक्रिया गरेको छ ।
हाल काठमाडौँ विश्वविद्यालय स्नातकोत्तर तहको पहिलो वर्षमा आदिवासीको बारेमा अध्यापन भइरहे पनि दोस्रो वर्षमा पनि अध्यापन गराउन पाठ्यक्रम निर्माणको लागि जुटेको अवस्थामा अध्ययन थालिएको हो ।

पहिलो चरणमा कोशी प्रदेशको इलाम, सुनसरी, सङ्खुवासभा र धनकुटामा अध्ययन गरिने काठमाडौँ विश्वविद्यालयका प्रोफेसर इन्द्रमणि राई र डा.लिना गुरुङ जुट्नुभएको छ । सोही क्रममा इलाम सदरमुकाममा छलफल गरिएको हो । छलफलमा सहभागीहरूले पाठ्यक्रममा आदिवासीको भोगाई, आदिवासी जनजाति पछि पर्नुको कारण, आदिवासीको सिप, ज्ञान जस्ता कुराहरूलाई पाठ्यक्रममा समेट्नुपर्ने सुझाव दिएका छन्।
समुदाय स्तरबाट आएका सल्लाह, सुझावलाई मध्यनजर गरेर पाठ्यक्रम निर्माणमा जुटिने प्रोफेसर इन्द्रमणि राईले बताउनुभयो ।
कार्यक्रममा पूर्व क्याम्पस प्रमुखहरू युद्धप्रसाद वैद्य, जसबहादुर लुङगेली, मानव अधिकारकर्मी मोहनसिंह थेबे, हिराकाजी घले जसबहादुर राईलगायतले आ आफ्नो धारणा राख्नुभएको महासङ्घका उपाध्यक्ष भक्तबहादुर थामीले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्