एआई जडित एक्स–रे मेसिनबाट क्षयरोग परीक्षण: १६ बिरामी फेला
झापा । झापामा अत्याधुनिक प्रविधि एआईजडित एक्स–रे मेशिनबाट क्षयरोग परीक्षण गरिएको छ ।
झापा गाउँपालिकाको तीनवटा स्थानमा एआईजडित एक्स–रे मेशिनबाट परीक्षण गर्दा १६ जना नयाँ क्षयरोगी पत्ता लागेको स्वास्थ्य कार्यालय झापाका क्षयरोग फोकल पर्सन वीरेन्द्र दासले जानकारी दिनुभयो । एक्स–रे गर्ने बित्तिकै १६ जना रोगी फेला परेको उहाँको भनाइ छ ।

गाउँघरमा लुकेर रहेका क्षयरोगीको खोज पड्ताल कार्यक्रम अन्तरगत झापा गाउँपालिकाको कुमरखोद स्वास्थ्य चौकी, आधारभूत अस्पताल टाघनडुब्बा र शरणामती स्वास्थ्य चौकीमा एआई प्रविधि जडित एक्स–रे मेशिनसहित विशेषज्ञद्वारा बैशाख २३ गतेदेखि २५ गतेसम्म सञ्चालन गरिएको छाती रोग तथा क्षयरोग निःशुल्क स्क्रिनिङ शिविरमा ८६४ जनाको एक्स–रे गर्दा ११३ जना शङ्कास्पद बिरामी फेला परेको र उनीहरूको खकार परीक्षणका लागि पठाइएको दासले बताउनुभयो । शङ्कास्पद बिरामीको रिपोर्ट आएपछि बिरामीको सङ्ख्या बढ्नसक्ने उहाँले बताउनु भयो ।
झापा गाउँपालिकाको संयोजन, स्वास्थ्य निर्देशनालय धनकुटाको प्राविधिक सहयोग र स्वास्थ्य कार्यालय झापाको आयोजनामा छाती रोग तथा क्षयरोग निःशुल्क स्क्रिनिङ शिविर सञ्चालन गरिएको थियो ।







प्रतिक्रिया राख्नुहोस्