उमेरले छेकेन काजी राईलाई पढ्न, ५६ वर्षमा कानुनको परीक्षा दिँदै

उदयपुर । उमेरले नातिनातिना सँग खेल्ने बेलामा उदयपुरको चौदण्डीगढी नगरपालिका-७ का काजी राई भने कानुन विषयको कक्षा १२ को परीक्षा दिन व्यस्त छन् ।
२०२६ सालमा खोटाङको निगालबासमा जन्मनु भएका काजी राई २०६० सालमा उदयपुरको चौदण्डीगढी नगरपालिका ७ बेल्टार बसाई सरेर आउनु भयो । आफूले उच्च शिक्षा हासिल गर्न नसकेको पश्चात् गरिरहेका काजी राई आफ्ना दुई छोराहरूको उच्च शिक्षा र तत्कालीन पहाडी कष्टकर जीवन शैलीलाई सहजता दिलाउन खोटाङबाट उदयपुर बसाई आउनु भएको हो ।
२०४७ सालमा प्रथम श्रेणीमा एस.एल.सी. पास गर्नु भएका राईले २०४८ सालमा गाउँकै शकुन्तला राई सँग विवाह गर्नुभयो । वहाँका अहिले दुई छोरा र बुहारी समेत छन् । तत्कालीन समयमा पहाडी जिल्लाको बसाई आर्थिक अवस्था समेत कमजोर रहेका काजी राईले पटक पटक शिक्षा सेवा आयोगको परीक्षा समेत दिनु भयो । शिक्षा सेवा आयोगमा धेरै पटक लिखितमा नाम निकालेका राई मौखिकमा सफल नहुँदा नेपालमा जागिर खाएर परिवारको गर्जो टार्न नसक्ने निष्कर्षमा पुग्नु भयो र अन्ततः २०५६ सालमा वैदेशिक रोजगारीका लागि खाडी मुलुक तर्फ हुइँकिनुभयो ।
खाडी मुलुकको कतारमा एउटै कम्पनीमा २२ बर्ष काम गरेर २०७८ सालमा राई नेपाल फर्कनुभयो । २२ बर्से वैदेशिक रोजगारीमा पटक पटक नेपाल आउने गरेको भए पनि छोटो छुट्टीमा नेपाल आउँदा आफ्नो पढ्ने इच्छा पुरा नभएको राईको भनाइ छ ।

वैदेशिक रोजगारीमा रहँदा त्यहाँको कानुन र भाषा नबुझ्दा आफूले खेप्नु परेको पिडा उहाँ सम्झन चाहनु हुन्न । उहाँ परिवारको गर्जो टार्नका लागि अर्काको देशमा दश नङ्ग्रा खियाउन बाध्य हुनु भयो तर मनमा भने सधैँ शिक्षा भन्दा ठुलो बस्तु केही नभएको महसुस भने भइरहेको थियो ।
काजी राई भन्नु हुन्छ, ’मैले शिक्षा सेवा आयोग पास गरेर स्थायी नियुक्ति पाएको भए म तत्कालीन समयमै राम्रो अध्ययन गर्ने थिए तर आयोग पास नहुँदा मेरा सबै सपना चकनाचुर भए’ । उहाँले अस्थायी शिक्षक पेसामा काम भने गर्नु भयो तर सके स्थायी नत्र वैदेशिक रोजगार भन्ने उद्देश्य सहित उहाँ खाडी मुलुक तर्फ लाग्नु भएको बताउनुहुन्छ ।
लामो समय वैदेशिक रोजगारमा काम गरेर फर्कनु भएका राई अहिले उदयपुरकै चौदण्डीगढी नगरपालिका ६ मा रहेको “कालिका माध्यमिक विद्यालय“बाट कानुन विषयको कक्षा १२ को परीक्षा दिँदै हुनुहुन्छ ।
लामो समय विदेश बसाई भएपछि आफूले नेपालको कानुन लगायत धेरै कुरा बुझ्न नसकेकोले पनि आफूले थप अध्ययन गर्ने इच्छा ब्यक्त गरेको भन्दै छोरा र श्रीमती सँग सल्लाह गर्दा उहाँहरूले समेत पढ्न इच्छा भए पढ्नु भन्ने सल्लाह दिएकोले आफु पुनः बुढेसकालमा पनि अध्ययनमा लागेको बताउनु भयो ।
आफूलाई देशको धेरै कानुनी कुरा थाहा नहुँदा कतिपय काम गर्न समेत अप्ठ्यारो हुने गरेकोले पनि धेरै जनाको सुझाव र सल्लाहमा आफूले कानुन विषय रोजेको राईले बताउनु भयो ।

वैदेशिक रोजगारबाट नेपाल फर्कनु भएका राई अहिले कृषि पेशा सँगै ट्याम्पो व्यवसाय गर्दै आउनु भएका छ । कृषि व्यवसायमा उहाँले भैँसीपालन गर्नु भएको छ भने ट्याम्पो व्यवसायलाई उहाँले दोस्रो पेशा बनाउनु भएको छ ।
२०२६ सालमा जन्मनु भएका राईको पढाई प्रतिको लगाव र परीक्षा दिन आउँदाको लगनशीलता देखेर उहाँले परीक्षा दिँदै गर्नु भएका परीक्षा सेन्टरका केन्द्राध्यक्ष दिनेश खड्का आफु अचम्मित भएको बताउनु हुन्छ । ५६ वर्षको उमेरमा समेत छुट्टै जोस जाँगर सहित परीक्षामा आउने र संयमित भएर परीक्षा दिने बानी देख्दा उमेरले पढाइलाई नछेक्ने रहेछ भन्ने महसुस गरेको खड्का बताउनु हुन्छ ।
यही बैशाख २१ गतेबाट सुरु भएको कक्षा १२ को परीक्षामा दिनेश खड्का केन्द्राध्यक्ष भएको थानपोखारी मा.वि. चौदण्डीगढी —९ ज्यामिरेमा ५६ बर्से काजी राई सँगै कबड्डी खेलकी राष्ट्रिय मुख्य प्रशिक्षक पार्वती राई देखि ह्यान्डबलकी प्रशिक्षक बिन्दा थापा समेत कक्षा १२ को शिक्षा विषयको परीक्षा दिँदै छन् ।
प्रतिक्रिया राख्नुहोस्