बझाङका दुई विद्यालय नमूना विद्यालयको रूपमा छनोट
बझाङ। सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेश सभा निर्वाचन क्षेत्र नमूना विद्यालयको रूपमा बझाङका दुई विद्यालयलाई छनोट गरेको छ।
शिक्षा क्षेत्रमा सुधार र गुणस्तरीय शैक्षिक पूर्वाधार विकास गर्ने उद्देश्यले गरिएको छनोटमा बझाङको निर्वाचन क्षेत्र न-१ बाट खप्तडछान्ना गाउँपालिका–२ स्थित लामातोला माध्यमिक विद्यालय र निर्वाचन क्षेत्र न-२ बाट बुङगल नगरपालिका–४ स्थित सरस्वती माध्यमिक विद्यालय परेका हुन् ।

शिक्षा विकास निर्देशनालय मार्फत प्राप्त विद्यालय प्रस्तावहरूमध्येबाट प्रदेश सरकारले मन्त्रीस्तरीय बैठकको निर्णयअनुसार यी विद्यालयलाई नमूना विद्यालयको रूपमा विकास गर्न लागेको हो । अब ती विद्यालयहरूका लागि समग्र विकासको गुरुयोजना तयार पारि आगामी आर्थिक वर्षको बजेट र कार्यक्रम निर्माण गरिने भएको छ ।

सामाजिक विकास मन्त्रालयले सम्बन्धित विद्यालयहरूलाई जानकारी गराइ गुरुयोजना तयार गरी समयमै मन्त्रालयमा पेश गर्न अनुरोधसमेत गरेको छ । नमूना विद्यालयको रूपमा छनोट भएका बझाङका दुई वटा विद्यालय ग्रामीण क्षेत्रका लागि शिक्षामा नयाँ सम्भावना र प्रेरणाको स्रोत बन्ने विश्वास गरिएको छ । यसबाट शैक्षिक पूर्वाधार, सिकाइको गुणस्तर र व्यवस्थापनमा उल्लेखनीय सुधार हुने अपेक्षा समेत गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्