तपाईँ सुन्दै हुनुहुन्छः

नेता नेपालको आदर्शबाट प्रेरणा लिइरहने सङ्कल्प : एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले नेपाली कम्युनिष्ट आन्दोलनका अग्रणी नेता प्रदीप नेपालको निधनले नेपालको कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलन र साहित्यिक क्षेत्रका लागि अपुरणीय क्षति भएको जनाएको छ । 

एमाले महासचिव शङ्कर पोखरेलले आज विज्ञप्ति जारी गरी नेता नेपालको निधनबाट पार्टी अत्यन्त दुःखित भएको बताउनुभयो । उहाँले स्वर्गीय नेता नेपालका असल गुणहरू, योगदान र आदर्शबाट निरन्तर प्रेरणा लिइरहने सङ्कल्पसमेत पार्टीले लिएको बताउनुभएको छ । 

केही वर्षदेखि पार्किन्सन रोगबाट पीडित नेता नेपालको उपचारका क्रममा काठमाडौँस्थित नर्भिक अस्पतालमा मङ्गलबार साँझ निधन भएको थियो । “युवा पुस्तामाझ एकदमै लोकप्रिय कमरेड प्रदीप नेपाल धेरै कार्यकर्ताहरूका निम्ति ऊर्जा र प्रेरणाको स्रोत हुनुहुन्थ्यो”, महासचिव पोखरेलले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, “तत्कालीन नेकपा (माले) लाई शान्तिपूर्ण, लोकतान्त्रिक र लोकप्रिय धारको अगुवाका रुपमा स्थापित गर्न र जनताको बहुदलीय जनवादको विकास र कार्यान्वयनमा महत्त्वपूर्ण योगदान गर्नुभएको थियो ।”

सिर्जनात्मकता, अथक क्रियाशीलता र ऊर्जा कमरेड प्रदीप नेपालको व्यक्तित्वका विशेषताहरू रहेको उल्लेख गर्दै मदन–आश्रित स्मृति प्रतिष्ठानका अध्यक्षका रुपमा उहाँले जननेता मदन भण्डारी र कुशल सङ्गठन जीवराज आश्रितका विचार, आदर्शलाई स्थापित गर्न उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको महासचिव पोखरेलले बताउनुभएको छ । 

महासचिव पोखरेलले पटक पटक संसद् सदस्यका रुपमा जनप्रतिनिधिको भूमिकामा रहनुभएका प्रदीप नेपालले सूचना तथा सञ्चार, शिक्षा, जलस्रोतलगायत विभिन्न मन्त्रालयको कुशल नेतृत्व गरेको उल्लेख गर्नुभएको छ । 

विसं २०१० पुस २८ मा भोजपुर गोगनेमा जन्मिनुभएका प्रदीप नेपाल त्रिचन्द्र क्याम्पसमा अध्ययन गर्दै गर्दा स्वतःस्फूर्त रुपमा विद्यार्थी आन्दोलनमा सहभागी हुँदै हिरासत र जेल जीवनको सामना गर्नुपरेको विज्ञप्तिमा उल्लेख छ ।

झण्डै १४ वर्ष लामो भूमिगत जीवनमा नेता नेपालले लुम्बिनी, मेची, प्रवास र काठमाडौँको पार्टी निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका र अस्वस्थताका कारण सक्रिय सङ्गठनात्मक जीवनबाट विश्राम लिनुअघि उहाँ एमाले स्थायी कमिटीको सदस्य र पार्टी प्रवक्ता समेत रहनुभएको थियो । 

सञ्जय थापाका नाममा सिर्जनात्मक लेखनमा संलग्न उहाँ प्रगतिवादी साहित्यिक आन्दोलनका अत्यन्त लोकप्रिय र प्रेरणादायी स्रष्टा रहनुभएको महासचिव पोखरेलले बताउनुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button