स्वतन्त्र र निष्पक्ष पत्रकारिताबिना लोकतन्त्रको कल्पना गर्न सकिन्न : राष्ट्रपति
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय पत्रकारिता पुरस्कार र वरिष्ठ पत्रकार सम्मानबाट देशका विभिन्न पत्रकारहरूलाई सम्मानित गर्नुभएको छ ।

राष्ट्रपति कार्यालय शितलनिवासमा आज आयोजित समारोहमा राष्ट्रपति पौडेलले वरिष्ठ पत्रकार सम्मान २०८१ बाट विपुल पोखरेल र गणेश बस्नेतलाई सम्मान गर्नुभयो ।
वरिष्ठ पत्रकार सम्मान पुरस्कारको राशि जनही दुई लाख रुपैयाँ नगद र सम्मानपत्र रहेको छ ।
यस्तै राष्ट्रपति पौडेलले राष्ट्रिय पत्रकारिता पुरस्कार २०८१ उदयपुरका पत्रकार डिल्लीराम खतिवडा, कास्कीका दिपेन्द्र श्रेष्ठ कास्की, सङ्खुवासभाका दिपेन्द्र वान्तवा, बागलुङका विमल गौतम, तनहुँका सागर पण्डित र कैलालीका पत्रकार लोग्सरी कुँवरलाई प्रदान गर्नुभयो ।
राष्ट्रिय पत्रकारिता पुरस्कारको राशि जनही एक लाख रुपैयाँ नगदसहित सम्मान पत्र रहेको छ ।
राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले आयोजना गरेको वरिष्ठ पत्रकार सम्मान तथा राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेलले पत्रकारिता क्षेत्र परिवर्तनको वाहक र राष्ट्र निर्माणको एउटा सशक्त तथा प्रभावकारी माध्यम भएको बताउनुभयो ।

राष्ट्रपति पौडेलले नेपालको राजनीतिक, सामाजिक र सांस्कृतिक परिवर्तनहरूमा नेपाली पत्रकारिता क्षेत्रले खेलेको भूमिका उल्लेखनीय रहेको बताउनुभयो ।
स्वतन्त्र, निष्पक्ष र तटस्थ पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य शर्त भएको भन्दै स्वतन्त्र र निष्पक्ष पत्रकारिता विना लोकतन्त्रको कल्पना गर्न नसकिने पनि राष्ट्रपति पौडेलले उल्लेख गर्नुभयो ।
राष्ट्रपति पौडेलले संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूत गरेको र संविधानको यस मर्म र भावनाअनुसार पत्रकारलाई निर्भय र स्वतन्त्रतापूर्वक समाचार सम्प्रेषण गर्ने वातावरण निर्माण गर्नु राज्यको दायित्व भएको बताउनुभयो ।
राष्ट्रपति पौडेलले समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने र जोखिममुक्त वातावरणमा समाचार सङ्कलन र सम्प्रेषण गर्ने अवस्थाको सुनिश्चिततातर्फ हामी सबैको ध्यान जान आवश्यक रहेको बताउनुभयो ।
राष्ट्रपति पौडेलले सूचना प्रविधिको विकाससँगै बढ्दो सामाजिक सञ्जाल र नागरिक पत्रकारिताको प्रयोगले आधारहीन र मिथ्या सूचना सम्प्रेषणबाट जनतालाई दिग्भ्रमित पार्न सक्ने खतराको सामना गर्नु वर्तमान आमसञ्चार माध्यम सामु चुनौती थपिएकाले यसको सामना गर्न नेपाली प्रेस सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।
समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको सञ्चार क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन सरकारले मिडिया काउन्सिल विधेयक, आमसञ्चार विधेयक, सोसल मिडिया सम्बन्धी विधेयकहरू अगाडि बढाएको बताउनुभयो ।
यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले सामाजिक सञ्जाल र पत्रकारिता अलग–अलग विषय भएको बुझ्न जरुरी रहेको उल्लेख गर्नुहुँदै त्यसलाई व्यवस्थित बनाउन मन्त्रालयले कानुनी व्यवस्थाको तयारी गरिरहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्मा, वरिष्ठ पत्रकार सम्मानबाट सम्मानित हुनुभएका नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष विपुल पोखरेल लगायतले नेपालको पत्रकारिता क्षेत्रले समाजमा विश्वसनीयता जगाउने गरी काम गर्नु जरुरी रहेको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्