तपाईँ सुन्दै हुनुहुन्छः

अरुण गाउँपालिकामा आँखा शिविर सञ्चालन  

भोजपुर । भोजपुरको पूर्वी अरुण गाउँपालिकाको केन्द्र प्याउलीमा रहेको अरुण आध्यात्मिक प्रतिष्ठानमा आँखा स्वास्थ्य शिविरको आयोजना गरिएको छ । शिविरमा एक सय १६ जनाले सेवा लिएका छन् भने ४५ जनाको आँखाको शल्यक्रिया गरिएको छ । 

अरुण गाउँपालिकाको सहयोग तथा नेपाल नेत्र ज्योति संघ, भोजपुर र अरुण आँखा उपचार केन्द्र, प्याउलीको आयोजनामा मङ्गलवारबाट शिविर सञ्चालन भएको हो । विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोग गरेको शिविरले आर्थिक अवस्था कमजोर भएका पालिकावासीहरूलाई राहत मिलेको गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “आर्थिक अवस्था कमजोर भएर अन्यत्र उपचारमा जान नपाएका पालिकावासीहरूलाई स्थानीय स्तरमै सञ्चालन हुने स्वास्थ्य कार्यक्रमले राहत पुर्याउदै आएको छ ।” 

पालिका भित्रका नागरिकलाई लक्षित गरी गाउँपालिकाले दन्त, आँखा शिविर लगायतका कार्यक्रमहरू बार्षिकरुपमा सञ्चालन गर्दे आईरहेको छ । 

ग्रामीण क्षेत्रमा सञ्चालन हुँदै आएका आँखा शिविरहरू प्रभावकारी बनेको नेपाल नेत्र ज्योति संघ आँखा तथा कान उपचार केन्द्र भोजपुरका प्रमुख विजय तामाङले बताउनुभयो । तामाङले भन्नुभयो, “शिविरमा विज्ञ विशेषज्ञ डाक्टरहरूद्वारा उपचार गरिने भएकाले शिविरहरू प्रभावकारी छन्, यसले आर्थिक अवस्थाका कारण सेवा पाउनबाट बञ्चित नागरिकलाई पनि सहजता दिएको छ ।” गाउँघरमै निःशुल्क आँखाको परीक्षण, उपचार तथा शल्यक्रिया सेवा पाएपछि स्थानीयमा पनि उत्साह देखिएको छ । शल्यक्रिया मार्फत आँखा देख्न पाएकोमा बृद्धबृद्धाहरु झन खुशी देखिनु भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button