धनकुटा बस दुर्घटनामा मृतक संख्या तीन पुग्यो
धनकुटा।सुनसरीको धरानबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस दुर्घटनामा मृतक संख्या तीन पुगेको छ। उपचारका क्रममा थप दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
प्रहरीका अनुसार धरान उपमहानगरपालिका–१३ का ५१ वर्षीय बस चालक रुद्र तामाङ र भोजपुरको षडानन्द नगरपालिका–१३ का ५८ वर्षीय लिला बहादुर श्रेष्ठको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा क्रमशः सोमबार बेलुका र मंगलबार बिहान मृत्यु भएको हो।
यसअघि धनकुटा नगरपालिका–६ की ७३ वर्षीया कृष्णकुमारी राई भुजेलको सोमबारै जिल्ला अस्पतालमा मृत्यु भएको थियो।
सोमबार बिहान धरानबाट भोजपुरतर्फ जाँदै गरेको को १ ख २१७७ नम्बरको यात्रुबाहक बस धनकुटा–६ स्थित गोठगाउँमा अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा अन्य ११ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी ओमप्रकाश खनालका अनुसार घाइतेहरुको जिल्ला अस्पताल र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।
प्रतिक्रिया राख्नुहोस्