कालीगण्डकी कोरिडोर अन्तर्गत बलेवा-मालढुंगा खण्डको काम तीव्र गतिमा

बागलुङ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर अन्तर्गत बलेवा-मालढुंगा खण्डको निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ ।
एक वर्ष अगाडि सम्पन्न हुनुपर्ने उक्त खण्डको काम बजेट अभावका कारण रोकिएको थियो । स्तरोन्नतिसहित कालोपत्रका लागि ५४ करोड लागतमा निर्माण थालिएको उक्त खण्डको हालसम्म ५० प्रतिशत काम सकिएको छ ।
बलेवा–मालढुंगा खण्डका इञ्जिनीयर उत्सव बस्यालले अहिले सडक फराकिलो बनाउने, नाली निर्माणलगायत काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । उहाँका अनुसार विसं २०७९ मङ्सिर २६ गते सम्झौता गरेर खड्का÷कृष्ण÷बिएन जेभीले जिम्मा लिएको थियो ।
गत मङ्सिर २९ गते सकिनुपर्ने काम लामो समय रोकिएपछि एक वर्षका लागि म्याद थप गरिएको इञ्जिनीयर बस्यालले बताउनुभयो । निर्माण कम्पनीले आगामी मङ्सिर २४ गते सम्म सक्ने गरी निर्माणलाई तीव्रता दिएको उहाँको भनाइ थियो । कोरिडोरको बागलुङ खण्डमा ३४ किलोमिटर सडक पर्ने र त्यसमध्ये हालसम्म १० किलोमिटर सडक मात्रै कालोपत्र गरिएको बस्यालले जानकारी दिनुभयो ।
उहाँका अनुसार गुल्मी र बागलुङको सिमाना पालुङ खोलाबाट बलेवासम्म पहिलो र बलेवाबाट मालढुंगासम्म दोस्रो गरी दुई खण्डमा ठेक्का लगाएर काम भइरहेको छ ।
ट्रयाक खुलेको लामो समयपछि सडक कालोपत्र हुन थालेपछि यात्रुलाई सहज हुने भएको छ ।
प्रतिक्रिया राख्नुहोस्