तपाईँ सुन्दै हुनुहुन्छः

गुठिचौर–१ का बस्तीमा सञ्चार बत्ती नहुँदा स्थानीयलाई सास्ती 

जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिका–१ का गाउँहरूमा अहिलेसम्म सञ्चार र विद्युतको भरपर्दो विकास नहुँदा नागरिकलाई सास्ती भएको छ । 

गुठिचौर गाउँपालिका–१ का पाँच वटा बस्तीका स्थानीय बिजुलीविहीन भएका छन् । नापानीमा रहेको अदालिखोला लघु जलविद्युत आयोजनाको जेनरेटर र ट्रान्समिटरमा समस्या आउँदा नागरिक बिजुलीविहीन भएका हुन् । 

वडा नं. १ मा पर्ने नापानी, गढिगाऊँ, मणिसाँघु, डिल्ली कोट र मनि गाउँका ४ सय ८० घरधुरीका नागरिक अहिले अन्धकारमा बस्न बाध्य छन् । 

जुम्लाको गुठिचौर गाउँपालिका १ नापानी गाउँका नागरिक सञ्चारविहीन बनेका छन् । सहर बजारमा फोरजी लगायतका सुविधा विस्तार भइसक्दा नापानी गाउँका नागरिक सञ्चार विहीन बनेका हुन् । 

गाउँमा नेटवर्कले काम नगर्दा करिब ८० घरपरिवारका नागरिक सञ्चारविहीन हुनु परेको स्थानीय मान बहादुर ऐडिले गुनासो पोखे । उनका अनुसार फोन गर्नका लागि डाँडा र रुखमा चढ्नु पर्ने बाध्यता रहेको छ । 

गुठिचौर गाउँपालिका १ का वडाध्यक्ष अर्जुनकुमार महताराले वडाका नागरिकले भोगेको सञ्चार असुविधालाई मध्यनजर गर्दै टावर मर्मतको पहल भइरहेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button