सङ्घीयता सुदृढीकरणका लागि अन्तरप्रदेश सहकार्य आवश्यक : मुख्यमन्त्री आचार्य
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्टको नेतृत्वमा रहेको एक प्रतिनिधिमण्डलबिच सोमवार राप्ती उपत्यका (देउखुरी)मा छलफल भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री आचार्यले सङ्घीयतालाई बलियो बनाउन अन्तरप्रदेश समन्वयलाई थप सुदृढ गर्नुपर्ने र सिकाइको आदानप्रदानलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
मुख्यमन्त्री आचार्यका अनुसार प्रदेश तहबीच कानुन निर्माणदेखि असल अभ्यासहरूको आदानप्रदानलाई सिकाइको माध्यमका रूपमा लिन सकिनेछ ।
कोशी प्रदेशका सभामुख अम्बरबहादुर बिष्टले लुम्बिनी प्रदेशले कानुन निर्माण, त्यसको प्रभावकारी कार्यान्वयन तथा आफ्नै प्रशासनिक केन्द्र निर्माणमा प्राप्त गरेका सफलताहरू कोशी प्रदेशका लागि सिकाइ हुने उल्लेख गर्नुभयो ।
कोशी प्रदेशकी उपसभामुख सृजना दनुवारले प्रदेश तहमा हुने यस्ता सिकाइ आदानप्रदानले भावनात्मक रूपमा पनि प्रदेशहरूलाई नजिक ल्याउने भएकाले यस्ता अभ्यासलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
छलफलमा नेपाली काँग्रेसकी सचेतक शोभा लिम्बु, नेकपा माओवादी केन्द्रकी सचेतक गीता तिम्सिना, नेकपा एसका सचेतक विद्या चाम्लिङ राई, राप्रपाका सचेतक गोपाल गजमेर लगायतको सहभागिता थियो ।
लुम्बिनी प्रदेशबाट मुख्यमन्त्री आचार्यसँगै प्रदेश सभा सदस्य यमबहादुर नेपाली, निमा गिरीलगायत सहभागी हुनुहुन्थ्यो ।







प्रतिक्रिया राख्नुहोस्