तपाईँ सुन्दै हुनुहुन्छः

‘सूचनाको हकको प्रयोगले प्रदेशमा सुशासन कायम गर्न सहयोग पुगेको छ’

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सूचनाको हकको प्रयोगले प्रदेश सरकार र अन्तर्गतका निकायबाट प्रदान गरिने सेवामा सुशासन एवं पारदर्शिता कायम गर्न सहयोग पुगेको बताउनुभयो ।

विश्व प्रेस स्वतन्त्रता दिवसका उपलक्ष्यमा नेपाल पत्रकार महासङ्घ मोरङले आज यहाँ आयोजना गरेको षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार वितरण तथा अग्रज पत्रकार सम्मान कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

मुख्यमन्त्री कार्कीले दिवसको शुभकामना दिँदै सञ्चारकर्मीले सत्यतथ्य विवरणसहितको सूचना आमजनतासमक्ष पु¥याउन महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । अँध्यारो कोठाबाट लोकतान्त्रिक शासन प्रणाली र आम नागरिकमाथि हुने साइबर हमला कुनै हालतमा सह्य नहुने भन्दै उहाँले नेपाल सरकारले यस्ता कार्यलाई तुरुन्त नियन्त्रण गर्न कानुनको दायरामा ल्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

मुख्यमन्त्री कार्कीले निजी क्षेत्रको महत्वपूर्ण सहभागितामा शुक्रबार सम्पन्न प्रदेश लगानी सम्मेलनमा रु एक खर्ब ५२ अर्ब १६ करोडका ४६ परियोजनाले प्रदेश र मुलुकको आर्थिक समृद्धि, रोजगारी सिर्जनामा महत्वपूर्ण उपलब्धि हासिल हुने विश्वास व्यक्त गर्नुभयो ।

विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले सञ्चारकर्मीहरूले कलमका माध्यमबाट समाजमा रहेका विकृति, भेदभाव, छुवाछुत, बालविवाह, महिला हिंसा नियन्त्रणमा भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा सूचनाको हकका क्षेत्रमा योगदान गर्ने दुई जना पत्रकारलाई पुरस्कृत गरिएको छ । रु एक लाख १०० राशिको सूचनाको अधिकार पुरस्कारबाट किशोर बुढाथोकी र नगद रु २५ हजार २५ को सूचनाको हक प्रोत्साहन पुरस्कारबाट राष्ट्रिय समाचार समिति सुरुङ्गाका प्रतिनिधि सुरेन्द्र भण्डारीलाई पुरस्कृत गरिएको छ । यसैगरी अग्रज पत्रकार एवं महासङ्घका मोरङका पूर्व अध्यक्ष यज्ञ शर्मालाई सम्मान गरिएको छ ।

महासङ्घ मोरङका अध्यक्ष सुशीला पाठक, पुरस्कार कोषका संस्थापक केदारबहादुर बस्नेत, महासङ्घ केन्द्रीय सदस्य कमल रिमाल, प्रदेश अध्यक्ष भरत खड्का, मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेल, महासङ्घ मोरङ उपाध्यक्ष सन्तोष सिग्देल र पूर्व प्रदेश अध्यक्ष लीलावल्लभ घिमिरेलगायतले सार्वजनिक निकायलाई पारदर्शी बनाउन एवं जनतामा सूचनाको हकको पहुँच बढाउन पुरस्कारले सहयोग पुर्‍याएको बताउनुभएको थियो । 

षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार यसअघि स्व विनयकुमार कसजु, तारानाथ दाहाल, शिव गाउँले, धर्मेन्द्र झा, गजेन्द्र बुढाथोकी र काशीराज दाहाललाई प्रदान गरिएको थियो । 

यसैगरी षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार राजु श्रेष्ठ, गणेश लम्साल, मोहनकाजी नेउपाने, देवनारायण साह र हरि अधिकारीलाई प्रदान गरिसकिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button