तपाईँ सुन्दै हुनुहुन्छः

नीति तथा कार्यक्रमको पक्षमा उभिनुपर्ने एमाले संसदीय दलको निष्कर्ष

काठमाडौँ । नेकपा एमाले संसदीय दलको आज बसेको बैठकमा सरकारको नीति तथा कार्यक्रमबारे छलफल भई त्यसको पक्षमा उभिनुपर्ने निष्कर्ष निकालिएको छ । 

प्रधानमन्त्री निवास, बालुवाटारमा आज बसेको एमाले संसदीय दलको बैठकमा प्रधानमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले संसदमा पेश भएको सरकारको नीति तथा कार्यक्रम देशमा राजनीतिक स्थायित्व, विकास र सुशासनका लागि सही ढङ्गले आएको बताउनुभयो । 

प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रम सही ढंगले आएकाले ढुक्क भएर दृढतापूर्वक त्यसलाई समर्थन गर्न दलका सांसद्हरुलाई निर्देशन दिनुभयो । 

प्रधानमन्त्री ओलीले जति राम्रो भए पनि विपक्षीले सधैँ विरोध गरिरहने भएकाले त्यसको प्रवाह नगरी सत्य रुपमा आएको नीति तथा कार्यक्रमको कार्यान्वयनका लागि सांसदहरूले प्रभावकारी भूमिका खेल्नुपर्ने पनि बताउनुभयो । 

प्रधानमन्त्री ओलीले देशमा स्थिर सरकार, राजनीतिक स्थायित्वका साथ सुशासन कायम गरी अर्थतन्त्रको विकासलाई तीव्र गतिमा अगाडि बढाउने सरकारले लक्ष्य लिएको उल्लेख गर्नुभयो । 

प्रधानमन्त्री ओलीले विकासका दृष्टिले पछाडि परेको समूहको उत्थान हुने गरी सरकारले काम गरिरहेको उल्लेख गर्नुहुँदै समाजप्रति उत्तरदायी, प्रतिपक्षप्रति संवैधानिक रूपमा सहकार्य, शान्ति सुव्यवस्थाप्रति जिम्मेवार र आम जनताप्रति जबाफदेही भएर नीति तथा कार्यक्रम ल्याइएको जिकिर गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button