कास्कीका किसानलाई यस वर्ष रासायनिक मल अभाव नहुने
लेखनाथ (कास्की) । कास्कीका किसानलाई यस वर्ष रासायनिक मल अभाव नहुने भएको छ ।
कृषि सामग्री कम्पनी लिमिटेड गण्डकी प्रादेशिक कार्यालय पोखराको पार्दीस्थित गोदाममा यस वर्ष असारसम्म पुग्ने मल मौज्दात रहेकाले विगतमा जस्तो यस वर्ष मल अभाव नहुने भएको हो ।
हाल पार्दीस्थित गोदाममा युरिया ५४८ मेट्रिक टन, डिएपी ११६ मेट्रिक टन र पोटास ३।५ मेट्रिक टन मौज्दात रहेकाले मल अभाव नहुने गण्डकी प्रादेशिक कार्यालय पोखराका प्रबन्धक ठाकुरप्रसाद बाँस्तोलाले दिनुभयो । कम्पनीले स्थानीय तहको सिफारिसअनुसार कृषि सहकारीमार्फत किसानलाई रासायनिक मल वितरण गर्दै आएको छ ।
सहकारीले वितरण गर्ने रासायनिक मलको मूल्य निर्धारण स्थानीय निकायले गर्दै आएका छन् । किसानले पोखरा महानगरपालिकाभित्र युरिया रु २१.५, डिएपी रु ५०.५ र पोटास रु ३८.५ तिर्नुपर्ने हुन्छ । पोखरा बाहिरको हकमा भने ढुवानीबापत दुईदेखि तीन रुपैयाँ बढी मूल्य लिन सकिने व्यवस्था छ ।
कास्की जिल्लाअन्तर्गत पोखरा महानगरपालिकाका ३३ वटा वडा र चारवटा गाउँपालिकामा कुल ८० वटा कृषि सहकारीले किसानलाई रासायनिक मल वितरण गर्दै आएका छन् । रासायनिक मल बिक्री गर्न सहकारीले स्थानीय निकायको सिफारिसमा कृषि सामग्री कम्पनीमा मल बिक्रीका लागि रु २५ हजार धरौटी राखेर अनुमति लिनुपर्ने हुन्छ । कास्कीमा मल बिक्री गर्न एक हजारभन्दा बढी सहकारीको आवेदन परेको बाँस्तोलाले जानकारी दिनुभयो ।
रासायनिक मल वितरण निर्देशिकाअनुसार स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा तीन सदस्य समिति रहन्छ । समितिको प्रमुख प्रशासकीय अधिकृत र सदस्यसचिवमा कृषि शाखा प्रमुख रहने व्यवस्था छ । समितिलाई बिक्री मूल्य निर्धारण, डिलर सिफारिस, बाँडफाँट, सुपरिवेक्षण तथा निरीक्षण र कारबाही तथा खारेजी गर्न सक्ने अधिकार र जिम्मेवारी दिइएको छ ।
प्रतिक्रिया राख्नुहोस्