तपाईँ सुन्दै हुनुहुन्छः

जग्गा विवादले गयो ज्यान

मुगु । मुगु जिल्लाको छायानाथ रारा नगरपालिका–१२ स्थित लुम्स गाउँमा पारिवारिक जग्गा विवादले उग्र रूप लिँदा एक महिलाको ज्यान गएको छ।

मङ्गलवार भएको विवादका क्रममा देउरानीले घरेलु औजार बाउसो प्रयोग गरी जेठानीको टाउकोमा प्रहार गरेपछि घाइते भएकी दुर्गा ऐडीको उपचारको क्रममा मृत्यु भएको हो।

प्रहरीका अनुसार ३६ वर्षीया दुर्गा ऐडीलाई २५ वर्षीया देउरानी बिमला बुढाले बाउसोले टाउको र अनुहारमा प्रहार गरेकी थिइन्। गम्भीर अवस्थामा रहेकी दुर्गालाई तत्काल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला लगिएको थियो। तर, पाँच दिनसम्म उपचारपछि शनिबार बिहान ५ बजे उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।

घटनाबारे मृतकका ससुरा बाचुराम ऐडीले बताएअनुसार कुनिउखात नामक स्थानको पुर्ख्यौली जग्गा तीन भाइबिच अहिलेसम्म भागबण्डा नभएको र त्यसकै कारण महिलाबिच विवाद चर्किएको थियो। दुवै पक्षले आ-आफ्नो भाग भनेर दाबी गरेपछि झगडा भएको र सो क्रममा आक्रोशित भएर विमलाले आक्रमण गरेकी थिइन्।

जिल्ला प्रहरी कार्यालय, मुगुका अनुसार आरोपी बिमला बुढालाई नियन्त्रणमा लिई ६ दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button