सडक भासिँदा बोलेरो भ्यान जमिनमुनि बेपत्ता
मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ र १७ को सिमानास्थित गैरीगाउँमा शुक्रबार अपराह्न सडक भासिँदा माछा बोक्ने बोलेरो भ्यान ९ना ४ च ४८३३० जमिनमुनि पुरिएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार रोकिराखिएको अवस्थामा सडक एक्कासि भासिँदा गाडी हराएको हो। गाडी भासिँदै जाँदा सो स्थानमा पानीको दह बनेको छ।

गाडीका चालक र सहचालक भने दुर्घटनाअघि नै बाहिर निस्किन सफल भएकाले ज्यान जोगिएको जनाइएको छ। प्रत्यक्षदर्शीका अनुसार गाडी करिब ५ सेकेन्डमै भासिएको थियो।
उक्त स्थान नजिकै माछापालनको पोखरी र बोरिङ रहेको र बोरिङकै कारण जमिन कमजोर भई भासिएको हुनसक्ने अनुमान गरिएको छ। अहिले पानीको निकास दिएर गाडीको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया राख्नुहोस्