भोजपुर गोल्डकपः जर्जियन भारतलाई पराजित गर्दे एपीएफ फाइनल प्रवेश

भोजपुर । भोजपुरको प्रतिष्ठित आठौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार भएको सेमिफाइनल खेलमा सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) ले जर्जियन फुटबल क्लब भारतलाई पराजित गर्दे फाइनलको यात्रा तय गरेको छ ।
प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समयमा दुवै टिमको तर्फबाट गोल हुन नसकेपछि थप गरिएको सात मिनेटको सुरुवातमै एपीएफका लागि जर्सी नम्बर ७ का खेलाडी सामीराह थोकरले एक गोल गरे । सोही गोल जितका लागि निर्णायक बन्न पुग्यो । आयोजक भोजपुर जिल्ला फुटबल सङ्घलाई पराजित गर्दे सेमिफाइनल प्रवेश गरेको जर्जियनले भने कुनै गोल गर्न सकेन ।
सेमिफाइनलको म्यान अफ ल म्याच एपीएफका गोलकर्ता थोकर नै बने । प्रतियोगिता अन्तर्गत शुक्रवारको सेमिफाइनल खेल भगवती स्पोर्टस क्लब खोटाङ र चर्च ब्वाइज युनाइटेड काठमाडौँका बीचमा हुने आयोजक भोजपुर जिल्ला फुटबल संघका उपाध्यक्ष भाष्कर तामाङले जानकारी दिनुभयो ।
करिब ४९ लाखको लागतमा भोजपुर नगरपालिका वडा नम्बर ७ मा रहेको रङ्गशालामा बैशाख १४ गतेदेखि २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा छिमेकी भारतको जर्जियन फुटबल क्लब, आयोजक भोजपुर जिल्ला फुटबल संघ, सलहेश फुटबल क्लब सिरहा, सशस्त्र प्रहरी बल नेपाल, भगवती स्पोर्टस क्लब खोटाङ, नवोबुद्ध फुटबल क्लब सप्तरी, चर्च ब्वाइज युनाइटेड काठमाडौँ र एलएक्स सिटि मोरङ गरी आठ टिमले सहभागिता जनाएका थिए ।
जिल्ला फुटबल सङ्घको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा प्रत्येक बर्ष जिल्ला सदरमुकाममा सञ्चालन हुँदै आएको प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधि सहित क्रमशः नगद पाँच लाख र तीन लाख पाउने छन् । अन्य व्यक्तिगत विधातर्फ पनि सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकलाई पुरस्कारको व्यवस्था गरिएको आयोजक भोजपुर जिल्ला फुटबल संघका अध्यक्ष प्रवीण सुवालले जानकारी दिनुभयो । प्रतियोगिताका लागि भोजपुर नगरपालिकाले ३० लाख सहयोग गरेको छ ।
गत बर्ष सञ्चालन भएको सातौं संस्करणमा चर्च व्वाइज युनाइटेड, काठमाण्डौले त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटमा ४–२ गोलले पराजित गर्दे विजेता बनेको थियो ।
प्रतिक्रिया राख्नुहोस्