तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री ओलीद्वारा श्रमिक दिवसको अवसरमा श्रमिकहरूको सम्मान र सुरक्षाका लागि प्रतिबद्धता

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) को अवसरमा श्रमिकहरूको योगदानको प्रशंसा गर्दै श्रमिकका अधिकार र सामाजिक सुरक्षाको सुनिश्चितताप्रति प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले देशको प्रगति श्रमिकहरूको पसिना र समर्पणले सम्भव भएको भन्दै श्रमिक वर्गप्रति कृतज्ञता प्रकट गर्नुभएको छ।

प्रधानमन्त्री ओलीले केही वर्षअघि सुरु गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा योजना प्रारम्भ गर्दा आलोचना र व्यङ्ग्यको सामना गर्नुपरेको स्मरण गर्दै अहिले भने २० लाखभन्दा बढी श्रमिकले उक्त योजनाबाट भरोसा पाएको उल्लेख गर्नुभएको छ। यसले श्रमिकहरूको भविष्य सुरक्षित बनाउँदै गएको उहाँले बताउनुभएको छ।

‘अब श्रम मात्र होइन, श्रमिकको भविष्य पनि सुरक्षित’, प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ। उहाँले श्रमिकका छोराछोरीको उज्यालो भविष्य र आमाबुबाको निर्धक्क जीवन सुनिश्चित गर्ने दिशामा सरकार अग्रसर रहेको जनाउनुभएको छ।

प्रधानमन्त्रीले श्रमिक दिवसको सन्देशमा ‘श्रमलाई सम्मान गरौं, श्रमिकलाई सम्मान गरौं’ भन्ने सन्देश दिँदै, श्रमिकहरूको सम्मान र अधिकारको रक्षा नै देशको समृद्धिको आधार भएको स्पष्ट पार्नुभएको छ।

उहाँको सन्देश अन्त्यमा ‘जय श्रमिक, जय देश !’, भन्ने उद्घोष गरिएको छ, जसले श्रमिकप्रति सम्मान र राष्ट्रप्रतिको प्रतिबद्धतालाई थप प्रबल बनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button