बैजनाथ गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा
बाँके। बैजनाथ गाउँपालिकालाई बुधबार पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि एवं जिल्ला समन्वय समिति बाँकेका संयोजक ज्ञानेन्द्र कुमार चौधरीले उक्त घोषणा गरेका हुन्।
गाउँपालिका भित्र रहेका सबै बालबालिकाले पाउनुपर्ने खोप पाएकाले पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य शाखाले जनाएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक चौधरीले गाउँपालिकाको अथक प्रयासले यो उपलब्धि हासिल भएको बताए। उनले घोषणा गर्नका लागि महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्त्वपूर्ण रहेको जिकिर गरे।
गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले स्वास्थ्य क्षेत्रमा खोप महत्त्वपूर्ण विषय भएको उल्लेख गरे। यसअघि बालबालिकाले खोप नपाउँदा स्वास्थ्यमा समस्या आउने गरेको भए पनि संघीयता आएपछि सबैभन्दा नजिकको स्थानीय सरकारले यसलाई प्राथमिकता दिएको उनले बताए।
यस्तै गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले पूर्ण खोप सुनिश्चितता घोषणा गर्नमा महिला स्वास्थ्य स्वयंसेविकाको योगदान अधिक रहेको भन्दै प्रशंसा व्यक्त गरिन्।
गाउँपालिका स्वास्थ्य शाखा प्रमुख लक्ष्मण शाहीले पूर्ण खोप सुनिश्चितता घोषणाका लागि अवलम्बन गरिएको प्रक्रियाबारे जानकारी गराउनुका साथै शाखाको प्रगति विवरण प्रस्तुत गरेका थिए। घोषणा कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर जनक गिरी, चिसापानी स्वास्थ्य चौकीका प्रमुख प्रेम शाह, महिला स्वास्थ्य स्वयंसेविका सञ्जाल बैजनाथकी अध्यक्ष मन्दिरा रिमाल लगायतले मन्तव्य व्यक्त गरेका थिए।
उक्त कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने, सशस्त्र प्रहरी उपरीक्षक प्रकाश सुवेदी, विभिन्न वडाका वडाध्यक्षहरू, कार्यपालिका सदस्य, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, पत्रकार लगायतको उपस्थिति रहेको थियो।
प्रतिक्रिया राख्नुहोस्