तपाईँ सुन्दै हुनुहुन्छः

‘सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउने गरी योजना बनाउनुपर्छ’

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले सुदूरपश्चिम प्रदेश अहिले मानव विकास सूचकाङ्कमा निकै तल रहेकाले यसमा उल्लेखनीय सुधार हुने गरी आगामी बजेट र कार्यक्रम ल्याउनुपर्ने बताउनुभएको छ । 

सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा आज काठमाडौँमा आयोजित ‘आर्थिक वर्ष २०८२/०८३ का लागि संघीय बजेट र सुदूरपश्चिम प्रदेशका प्राथमिकताहरू’ विषयक अन्तरक्रियामा उहाँले प्रादेशिक तुलना गर्दा नेपालको मानव विकास सूचकाङ्कमा सुदूरपश्चिम प्रदेश हाल छैटौँ स्थानमा रहेकोले सुधारका लागि आगामी आयोजना र कार्यक्रमहरू निर्माण गर्नुपर्ने बताउनुभयो । 

उहाँले कनिका छरेजस्तो गरी अनेक शीर्षकमा बजेट छुट्टाउने मात्र भन्दा पनि कुन समुदायलाई प्रत्यक्ष या अप्रत्यक्ष लाभ पुग्छ र कुन क्षेत्रको विकास हुन्छ भनेर ठोस रुपमा योजना र कार्यक्रमहरू तय गर्ने र तोकिएको समयमा सम्पन्न गर्ने गरी कार्ययोजना बनाउनुपर्ने सुझाव पनि दिनुभयो । 

मन्त्री डा राणाले कृषि, पर्यटन र पूर्वाधार निर्माण नै सुदूरपश्चिम क्षेत्रका प्रमुख प्राथमिकता हुनुपर्नेमा जोड दिँदै कृषिजन्य उत्पादनलाई व्यावसायिक तथा आधुनिक कृषिसँग जोड्नुका साथै बजारीकरणमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । 

उहाँले सुदूरपश्चिममा पनि देशका अरू भूभागमा जस्तै मानिसहरूको बसाइसराइले जमिन बाँझो छोड्ने प्रवृत्ति बढेकाले हाल खेतीयोग्य जमिन के कति छ भन्ने यकिन गरेर उक्त जमिनमा आधुनिक र व्यावसायिक खेतीका लागि योजना बनाउनुपर्ने बताउनुभयो । 

मन्त्री डा राणाले सुदूरपश्चिम क्षेत्र धार्मिक, सांस्कृतिक तथा साहसिक पर्यटनका क्षेत्रमा निकै समृद्धि रहेकाले पर्यटन प्रवर्द्धन गर्न ‘हस्पिटालिटी’ लगायतका पर्यटकीय पूर्वाधार निर्माणका क्षेत्रमा प्रभावकारी योजना र बजेटका लागि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  

उहाँले सुदूरपश्चिममा यस्ता पूर्वाधारका क्षेत्रमा बढीभन्दा बढी लगानीका लागि निजी क्षेत्रलाई कसरी आकर्षित गर्न सकिन्छ भनेर हामी सबै सामूहिक रुपमा लाग्नुपर्नेमा जोड दिनुभयो । 

पूर्वाधार निर्माणका क्षेत्रमा निजी क्षेत्रलाई आकर्षित गर्न सकियो भने यसबाट समग्र प्रदेश नै लाभान्वित हुन सक्ने उहाँले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button