तपाईँ सुन्दै हुनुहुन्छः

बौद्धिक सम्पत्तिको दर्तालाई प्रोत्साहन गर्न जरुरी : अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बौद्धिक सम्पत्तिको दर्तालाई प्रोत्साहन गर्ने गरी राज्यको भूमिका बढाउनुपर्नेमा जोड दिनुभएको छ । 

विश्व बौद्धिक सम्पत्ति दिवसका अवसरमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, उद्योग विभाग, प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले बौद्धिक सम्पत्ति (आइपी) बारे पर्याप्त ज्ञानको अभावले पनि यसको संरक्षणमा चुनौती थपिएको धारणा राख्नुभयो । 

अध्यक्ष ढकालले कतिपय अवस्थामा ट्रेडमार्ककका विषयमा विवादहरू आउने गरेकाले यसको समाधानमा हुनुपर्नेमा जोड दिनुभयो । यस्तै, उहाँले ट्रेडमार्क तथा पेटेन्टका विषयमा पर्ने उजुरी र यसको सुनुवाइको प्रक्रियालाई सरल सहज र छिटो गर्नुपर्ने बताउनुभयो । 

“नेपालको कानुनले पनि बौद्धिक सम्पत्तिलाई कानुनमा सुरक्षित गरेको छ । जसले पेटेन्ट, प्रतिलिपि अधिकार र ट्रेडमार्कलाई सुरक्षित राख्न सहयोग पुगेको छ, यस प्रकारका कार्यक्रमले बौद्धिक सम्पत्तिका विषयमा जनचेतना अभिवृद्धिमा ठूलो सहयोग पुग्ने विश्वास छ”, उहाँले भन्नुभयो ।  

उहाँले गीतसङ्गीत क्षेत्र मनोरञ्जन उद्योगका रुपमा विकास हुँदै आएको अवस्थामा सर्जकहरूले सिर्जनाको संरक्षण आवश्यक रहेको बताउनुभयो । विश्व बौद्धिक सम्पदा सङ्गठन (वाइपो)ले पहिलो विश्व आइपी दिवस २००१ मा मनाएको थियो । 

सङ्गठनले हरेक वर्ष फरक–फरक नारा तय गरी यो दिवस मनाउँदै आइरहेको छ । सङ्गठनले यस वर्ष ‘आइपी एण्ड म्युजिक फिल द बिट अफ आइपी’ नारा तय गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button