गण्डकी प्रदेश सरकारको आउँदो बजेट करिब साँढे ३ अर्ब घट्ने
पोखरा । गण्डकी प्रदेश सरकारको आगामी वर्ष २०८२/०८३ को बजेट घट्ने भएको छ । प्रदेशको आर्थिक मामिला मन्त्रालयले आउँदो वर्षको लागि करिब २९ अर्ब ५० करोड रुपैयाँ बराबरको सिलिङ मन्त्रालय र मातहतका कार्यालयलाई दिएको श्रोतले जनाएको छ ।

चालु आर्थिक वर्षको भन्दा केही बजेट घट्ने गरी हाल बजेट निर्माण कार्य सुरु भएको आर्थिक मामिला मन्त्रालयका उपसचिव डिल्लीराम रिज्यालले बताउनुभयो । उहाँका अनुसार चालु वर्षको तुलनामा आउँदो वर्ष करिब ३ अर्ब ५० करोड कम बजेट खुम्चिने भएको छ ।
प्रदेशको चालु वर्षमा ३३ अर्ब ९७ करोडको बजेट हाल कार्यान्वयन हुँदै छ । प्रदेश सरकारले आन्तरिक राजश्व लक्ष्य अनुसार सङ्कलन गर्न नसक्नु, सङ्घीय सरकारबाट प्राप्त अनुदान समेत घट्नु, देशको आर्थिक अवस्थाले गर्दा बजेटको आकाश खुम्चिन पुगेको उहाँले जनाउनुभयो ।
दायित्व सृजना भएका योजनाहरूलाई उच्च प्राथमिकताका साथ उत्पादनमूलक, रोजगार सृजनामा जोड दिँदै बजेट ल्याउने गरी हाल प्रि बजेट छलफल समेत सुरु भएको उहाँले जनाउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्