भेरी अस्पतालमै मस्तिष्क मृत्युपछि अंगदान र प्रत्यारोपण सम्भव: डा. श्रेष्ठ
बाँके। शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपन केन्द्र भक्तपुरका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले भेरी अस्पतालमै मस्तिष्क मृत्यु पश्चात अंगदान र प्रत्यारोपण गर्न सम्भव रहेको बताउनुभएको छ।
नेपालगन्जमा मंगलबार बेलुका मस्तिष्क मृत्यु पश्चात हुने अंगदान र प्रत्यारोपण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा डा. श्रेष्ठले मस्तिष्क मृत्यु भएका व्यक्तिको पनि कतिपय अंग काम लाग्ने भएकाले दान गर्न सकिने उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, ‘कसैले आफ्नो अंग दान गर्ने सहमति दिनुभयो भने मस्तिष्क मृत्यु पश्चात हामीले मृतकको अंग निकालेर अर्को व्यक्तिलाई दिन सक्छौं, जसले अंग पाएपछि पुनर्जन्म पाउनेछ।’
मस्तिष्क मृत्यु पश्चात दान गरेको अंग अर्को व्यक्तिमा प्रत्यारोपण गरेर केन्द्रले धेरैको ज्यान बचाएको बताउँदै उहाँले जीवित अवस्थामा पनि कसैले मृगौला, कलेजो जस्ता अंग दान गर्न सक्ने तर जीवित अवस्थामा सबैले जो कोहीका लागि दान नगर्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘मस्तिष्क मृत्यु पश्चात अंग दान गर्ने कसैले सहमति दिन्छ भने भेरी अस्पतालमै अंग प्रत्यारोपण गर्न सकिन्छ।’ तर, अंगदान र प्रत्यारोपणको काम निश्चित समयभित्र गरिसक्नुपर्ने धारणा राख्नुभएको थियो।
भेरी अस्पतालले मंगलबारदेखि मृगौला प्रत्यारोपण सेवा सुरु गरिसकेको छ। केन्द्रसँगको सहकार्यमा अस्पतालले दुई जना बिरामीको मृगौला प्रत्यारोपण गरेको हो। अन्तरक्रिया कार्यक्रममा उपस्थित चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीले राखेका विभिन्न जिज्ञासाको जवाफ निर्देशक श्रेष्ठले दिनुभएको थियो।
प्रतिक्रिया राख्नुहोस्