तपाईँ सुन्दै हुनुहुन्छः

पुरुष इन्डो–नेपाल क्लब च्याम्पियनसिप प्रतियोगिता: भारतको साग गुजरात र गण्डकी प्रदेश विजयी

रुपन्देही । रुपन्देहीमा जारी १० औँ मणिमुकुन्द भलिबल कप पुरुष इन्डो–नेपाल क्लब च्याम्पियनसिप प्रतियोगितामा साग एकेडेमी गुजरात भारत र गण्डकी प्रदेश भलिबल संघ विजयी भएका छन् ।

मणिमुकुन्द भलिबल क्लबको आयोजनामा सोमबार राती भएको खेलमा गण्डकी प्रदेश भलिबल सङ्घले कोशी प्रदेश भलिबल सङ्घलाई २५–१७, २५–१३, २५–२२ बनाउँदै सोझो सेटमा पराजित गरेको हो ।

प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेको गण्डकीका खेलाडी बिष्णु क्षेत्रीलाई नगद सम्मान गरिएको थियो । दोस्रो खेलमा साग एकेडेमी गुजरातले विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरेको हो ।

निक्कै प्रतिस्पर्धात्मक खेलमा पहिलो र दोस्रो सेट २५–२३, २५–२० अङ्कको जीतसँग साग गुजरातले अग्रता लिएको थियो । तेस्रो सेटमा भने विभागीय टिम त्रिभुवन आर्मी २५–१२ को अङ्कसहित जित निकाल्दै फर्कियो । चौथौँ सेटमा भारतको साग गुजरातले २५–२२ अङ्कले विजयी भयो ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका साग गुजरातका आरएन बलियान नगदसहित सम्मानित गरिएको थियो ।

मङ्गलवारको पहिलो खेल आयोजक मणिमुकुन्द भलिबल क्लब, तिलोत्तमा र विभागीय टिम एपिएफ क्लब, काठमाडौँ बिचमा हुने छ भने दोस्रो खेल कोशी प्रदेश भलिबल संघ र विभागीय टिम नेपाल पुलिस क्लब बिच हुने अफीसियल रेफ्री रामबहादुर थापाले बताउनुभयो

प्रतिक्रिया राख्नुहोस्

Back to top button