जुम्लामा हिमाली संवाद सुरु,जलवायु प्रभावबारे छलफल हुने
जुम्ला। विकास साझेदार संस्था किर्डाक नेपाल द्वारा आयोजित हिमाली संवाद जुम्लामा सुरु भएको छ ।
कर्णाली प्रदेशका १० वटै जिल्लाका नागरिक अगुवा,बालबालिका,तथा युवाहरूको सहभागितामा हिमाली संवाद सुरु भएको हो ।

हिमाली संवादको कर्णाली प्रदेश सभा सदस्य देवेन्द्र बहादुर शाहीले औपचारिक उद्घाटन गर्नुभएको छ । संवादको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहनु भएका कर्णाली प्रदेश सभा सदस्य देवेन्द्र बहादुर शाहीले कार्बन उत्सर्जनमा हाम्रो भूमिका नभएपनि जथाभाबी बाटो खन्ने,रुख बिरुवा मास्ने, र वातावरण मास्ने काम हामीबाट भएकोले जलवायु परिवर्तनको असर देखिन थालेको बताउनु भयो ।
उहाँले भन्नुभयो ‘धनी राष्ट्रहरू गरेको कार्बन उत्सर्जनको असर हामीले भोगी रहेका छौ । हाम्रो कुनै दोष छैन भनेर उम्किन पाउँदैनौ। सङ्घीयतापछि वातावरण मास्ने काम बढी भएको छ । अबको विकास वातावरणमैत्री हुनु पर्ने हिमाली संवाद केन्द्रित हुनु पर्छ ।’

जिल्ला समन्वय समिति समितिका प्रमुख गौरीनन्द आर्चाय,प्रमुख जिल्ला अधिकारी राम बहादुर शाही लगायतका बक्ताले कर्णालीमा जलवायु परिवर्तनले पारेका असर र त्यसबाट अनुकुलित हुनेका लागि नीतिगत रुपमा गर्नु पर्ने कामका विषयमा हिमाली संवादमा चर्चा गर्नु पर्ने बताउनुभएको छ।
किर्डाक नेपालका कार्यकारी निर्देशक गोविन्द बहादुर शाहीले सरकारले गर्ने सगरमाथा संवादमा कर्णालीका सवालहरू समावेश गर्न हिमाली संवादको आयोजना गरिएको बताउनुभयो । जलवायु परिवर्तनले पारेको असर र त्यसबाट अनुकुलित हुन गर्नुपर्ने प्रयासका विषयमा हिमाली संवादमा छलफल हुने छ । संवादबाट उठेका सबै सवालहरूलाई संग्रहित गरेर सरकारलाई बुझाइने छ ।
किर्डाक नेपालका अध्यक्ष सम्झना मल्लले किर्डाक नेपालले सामाजिक विकास,समानता कायम सँगै पछिल्लो समय जलवायु परिवर्तनका असर न्यनिकरण,हिमाल बचाउ अभियान,बाल सहभागिता लगायतका क्षेत्रमा किर्डाकले काम गरेको बताउनुभयो ।
हिमाली संवादमा उठेका विषय माथि वैशाख २२ गते काठमाडौँमा हुने बहसमा समावेश गरिने छ । भने त्यहाँबाट उठेका कुरालाई सगरमाथा संवादमा राखिने छ ।
किर्डाकद्वारा आयोजित हिमाली संवादमा कर्णाली प्रदेशभरका २ सय जनाको सहभागिता रहने छ । भने दुई दिन सम्म सञ्चालन हुने संवादमा जलवायु प्रभाव तथा अनुकूलन बारे चार वटा प्राविधिक शत्र सञ्चालन हुने भएका छन् ।
प्रतिक्रिया राख्नुहोस्