लुम्बिनी कप महिला फुटबल : एपीएफ क्लब सेमिफाइनलमा
नेपालगन्ज । सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लब लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालगन्ज रङ्गशालामा आज कर्णाली प्रदेश फुटबल सङ्घलाई ६-० गोल अन्तरले पराजित गर्दै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको हो ।

एपीएफको तर्फबाट रेनुका नगरकोटी, अनिता केसी, गीता राना र रश्मिले कुमारी घिसिङले १(१ गोल गरेका थिए । दुई गोल भने कर्णालीबाट आत्मघाती भएको थियो । म्यान अफ द म्याच एपीएफकी रेनुका भइन् । रौतहट फुटबल संघ, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । योसँगै सेमिफाइनल समीकरण पूरा भएको छ । मङ्गलवार पहिलो सेमिफाइनल दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबिच हुनेछ ।
प्रतियोगितामा नेपाल र भारतका गरेर ८ वटा टिमको सहभागिता छ । प्रतियोगितामा घरेलु टिम बाँके–११, सशस्त्र प्रहरी बलको एपीएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली एफसी, सुदूरपश्चिम एफसी, सिलिगुडी फुटबल क्लब, रौतहट जिल्ला फुटबल संघ टिमको सहभागिता छ ।
बाँके जिल्ला फुटबल सङ्घसँगको सहकार्यमा हुन लागेको प्रतियोगिताको विजेता टिमले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता टिमले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल र पुरस्कार प्राप्त गर्ने आयोजक अन्तरालले जनाएको छ । प्रतियोगिता वैशाख १२ गतेसम्म चल्नेछ ।
प्रतिक्रिया राख्नुहोस्