तपाईँ सुन्दै हुनुहुन्छः

मल र सिँचाइ अभाव हटाउन जरुरी छ : मन्त्री अधिकारी 

रुपन्देही । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले नेपालमा मलको अभाव हटाउन जरुरी रहेको बताउनुभएको छ । मल अभाव हटाउन अनुदानमा केही कटौती गर्ने र प्राङ्गारिक मल प्रयोगलाई प्रोत्साहन गर्न जरुरी रहेको उहाँले बताउनुभयो । 

सोमबार रुपन्देहीको मर्चवारमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई, रुपन्देहीद्वारा निर्माण भएको गहुँ जोनको निरीक्षणका क्रममा स्थानीयले मल अभावले दुःख पाएको जनाएपछि मन्त्री अधिकारीले मल अभाव हटाउन आफू लागिपरेको बताउनुभएको हो।

उहाँले नेपालमा वार्षिक ११ लाख मेट्रिकटन मल माग रहे पनि सरकारले जम्मा ४ लाख ५० हजार मेट्रिक टन मात्रै आयात गरिरहेको बताउँदै अब अनुदान कटौती गरेर भए पनि मल आयात बढाउन जरुरी रहेको बताउनुभयो ।

‘हामीले छुट्टाउने बजेटबाट धेरै मल किन्न अनुदान केही कटौती गर्नुपर्छ । थोरै भए पनि अनुदान घटाउँदा मल आयात बढ्छ’, उहाँले भन्नुभयो । मन्त्री अधिकारीले मर्चवार क्षेत्र कृषिका लागि उर्वर भूमि रहेको बताउँदै यहाँ मल र सिँचाइ सुविधा भए कृषि क्षेत्रमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । सिँचाइ सुविधा र मल अभाव हटाउनका लागि आफूले पहल गर्ने मन्त्री अधिकारीले आश्वासन दिनुभयो ।

मन्त्री अधिकारीले अबको बजेटमा कम्तीमा प्राङ्गारिक मलका लागि १५ प्रतिशत भए पनि बजेट छुट्टाउन पहल गर्ने बताउनुभयो । उहाँले कृषि क्षेत्रको आधुनिकीकरणमा प्रधानमन्त्री कृषि परियोजनाले महत्वपूर्ण योगदान दिएको दाबी गर्नुभयो। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका परियोजना निर्देशक बैकुण्ठ अधिकारीले परियोजनाको प्रभावकारिताको अध्ययन गर्न मन्त्रीसहित संघीय संसद्को कृषि तथा सहकारी समितिको टिम अवलोकनमा आएको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button