नेपालगञ्जमा पत्रकारका लागि फुटबल रिपोर्टिङ कार्यशाला

नेपालगञ्ज । नेपालगञ्जमा पत्रकारका लागि फुटबल रिपोर्टिङ कार्यशाला गरिएको छ ।
नेपालगञ्ज रङ्गशालामा भोलिदेखि हुन लागेको अन्तर्राष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगितालाई लक्षित गरी गरिएको कार्यशाला खेलकुद पत्रकार मञ्च बाँकेको आयोजना तथा अन्तराल नेपालगञ्जको सहकार्यमा गरिएको हो ।
कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेल विधामा पहिचान बनाउनुभएका प्रशिक्षक पत्रकारहरूले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा फुटबल रिपोर्टिङ र लेखनका विषयमा एसियाली खेलकुद पत्रकार संघका कोषाध्यक्ष तथा बिबिसी संवाददाता निरञ्जन राजवंशी, खेल र न्यु मिडियाका बारेमा नेपाल खेलकुद पत्रकार मञ्चका पूर्व अध्यक्ष एवम् खेलाडी डटकमका प्रबन्ध सम्पादक अजय फुयाँल, खेल र प्रविधिका विषयमा नेपाल खेलकुद पत्रकार मञ्चका वरिष्ठ उपाध्यक्ष निरञ्जन अधिकारी र खेल फोटो पत्रकारिता र मोबाइल पत्रकारिताका विषयमा फोटो जर्नलिष्ट क्लबका पूर्व अध्यक्ष विकास कार्कीले सहजीकरण गर्नुभएको थियो ।
नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा ३० बढी पत्रकारहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा लुम्बिनी कपको प्रचारप्रसारको विषयमा मिडिया संयोजक निरज गौतमले जानकारी दिनुभएको थियो ।
कार्यक्रममा अन्तरालको आयोजनामा भोलि वैशाख ५ गतेबाट हुन लागेको महिला फुटबल खेलको रिपोर्टिङका विषयमा विभिन्न सवालहरूमाथि पनि चर्चा गरिएको थियो । भोलि पहिलो खेल सुदूरपश्चिम र त्रिभुवन आर्मीबीच हुने आयोजक अन्तरालले जनाएको छ । खेलमा नेपाल र भारतका गरी ८ वटा टिमको सहभागिता रहनेछ ।
बाँके जिल्ला फुटबल सङ्घसँगको सहकार्यमा हुन लागेको प्रतियोगिताको विजेता टिमले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता टिमले २ लाख ५० हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्नेछन् ।
प्रतिक्रिया राख्नुहोस्