ताप्लेजुङमा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भीर घाइते

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा बोलेरो दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ भने एकजना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार बोलेरो चालक पाँचथर फिदिम नगरपालिका ३ बस्ने २५ वर्षीय सरोज श्रेष्ठको ज्यान गएको हो। त्यस्तै, सोही ठाउँ घर भएका सहचालक सौजन श्रेष्ठको अवस्था गम्भीर भएको प्रहरीको भनाइ छ ।
बुधबार दिउँसो मे १ च ५१९३ नम्बरको उक्त बोलेरो लेलेपबाट तापेथोक तर्फ आउने क्रममा तापेथोक स्थित याङ्सिला चोकमा पुगेपछि अनियन्त्रित भई अन्दाजी ३०० मिटर तल खसेको थियो ।
घटना लगत्तै दुवैजनालाई आधारभूत स्वास्थ्य चौकी तापेथोक लगिएकोमा एकजनालाई चिकित्सकले मृत घोषणा गरेका हुन् । घाइते एकजनालाई भने थप उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पताल पठाइएको प्रहरी प्रमुख रावलले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्