तपाईँ सुन्दै हुनुहुन्छः

रुपन्देही जिल्लामा ८९ जना फरार प्रतिवादी पक्राउ 

रुपन्देही । रुपन्देही जिल्लामा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले ८९ जना फरार प्रतिवादी पक्राउ गरेको छ ।

विभिन्न मितिमा कैद तथा जरिवाना सजायको फैसला भई फरार रहेका ८९ प्रतिवादीहरूलाई रुपन्देही प्रहरीले २०८१ साल चैतमा पक्राउ गरेको हो । ८९ प्रतिवादीहरूलाई पक्राउ गर्दा उनीहरूबाट ४५ वर्ष १ महिना १३ दिन कैद र ४४ लाख २२ हजार ४ सय १४ रुपैयाँ जरिवाना असुलउपर भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले मङ्गलवार आयोजना गरेको मासिक पत्रकार भेटघाट कार्यक्रममा डिएसपी कार्कीले फैसलापछिको आधारमा चैतमा २० वर्षपछि २७, १५ वर्षपछि ११, १० वर्षपछि २१, ५ वर्षपछि १५ र ५ वर्षभन्दा कम १५ जना पक्राउ गरिएको बताउनुभयो ।

त्यस्तै एक महिनामा रुपन्देही प्रहरीले ५९ लाख ५१ हजार ३ सय ६१ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयबाट खटिएको टोलीले विभिन्न स्थानहरूबाट भन्सार छली चोरी निकासी गरी भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याउँदै गरिएको सामान पक्राउ गरेको डिएसपी कार्कीले जानकारी दिनुभयो ।

त्यसै गरी अवैध रुपमा माटो तथा बालुवा उत्खनन् गरिरहेको अवस्थामा सवारीसाधन नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सम्बन्धित स्थानीय तहमा पठाइएकोमा ७ लाख ८ हजार १ सय ३६ रुपैयाँ जरिवाना भएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएको सवारीसाधनमा ट्याक्टर ९ वटा, जेसीबी ४ वटा र टिप्पर, हाईवा ७ वटा रहेका छन् ।

त्यस्तै चैतमा जिल्लामा लागूऔषधसहित ३३ जना पक्राउ परेका छन् । चैतमा हराएका मोबाइलसम्बन्धी ५१ वटा निवेदन परेकोमा १५ वटा फेला पारी सम्बन्धित मोबाइल धनीलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी सुरज कार्कीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button