शुक्लागण्डकीमा दोस्रो संस्करणको राष्ट्रिय दौड प्रतियोगिता सम्पन्न, कार्की र लामा प्रथम

पोखरा । ‘स्वास्थ्यको लागि दौडौँ, विकासका लागि दौडौँ‘ भन्ने नाराका साथ नयाँ वर्ष २०८२ को पावन अवसरमा शुक्लागण्डकी नगरपालिका वडा नंं २, कोत्रे तनहुँ अन्नपूर्ण युवा क्लबद्वारा आयोजना गरिएको दोस्रो राष्ट्रिय दौड प्रतियोगिता २०८२ सम्पन्न भएको छ ।
भूजिकोट क्षेत्रको पर्यटकीय प्रवद्र्धनका लागि आयोजना गरिएको ‘दोस्रो कोत्रे–भुजिकोट–स्थानथोक राष्ट्रिय खुल्ला उकालो दौड प्रतियोगिता २०८१’ मा ओखलढुङ्गाका टंकबहादुर कार्की प्रथम भएका छन् ।
९ किलोमिटरको निर्धारित दुरी ४३ मिनेट ४० सेकेन्ड ११ मिली सेकेण्डमा पार गर्दै कार्की प्रथम भएका हुन् । भने खोटाङका गजेन्द्र राई द्वितीय (४३ मिनेट ५५ सेकेन्ड ४० मिली सेकेन्ड) र रोल्पाका मनकुमार रोक्का मगर तृतीय (४४ मिनेट १३ सेकेन्ड ४० मिली सेकेण्ड) मा सफल भए । उनीहरूले क्रमशः ३३ हजार ३ सय ३३, २२ हजार २ सय २२ र ११ हजार १ सय ११ मेडल र प्रमाण पत्र पुरस्कार प्राप्त गरे । प्रतियोगितामा धनकुटाका उमेश थापा र भक्तपुरको विकास राई क्रमशः चौथो र पाँच भए । उनीहरूले मेडल र प्रमाण पत्र सहित नगर ५ हजार ५ सय ५५ र ३ हजार तीन सय ३३ नगद पुरस्कार प्राप्त गरे । १६५ जना धावक सहभागी भएका खेलमा उत्कृष्ट २० सम्मका धावकहरूलाई मेडल सहित सम्मान गरिएको थियो ।
प्रतियोगितामा महिला तर्फ लमजुङकी विपना लामा र करुणा गुरुङ प्रथम र द्वितीय हुँदा तनहुँकी सरस्वती डुम्राकोटी तृतीय हुन सफल भइन् । कोत्रे बजार देखि एकले खेत, तार्कृडाँडा, भंगारा, मकनपुर भुजिकोट हुँदै स्थानथोक सम्मको ९ किलोमिटरको दुरी प्रथम भएकी लामाले १ घण्टा २ मिनेट ३२ सेकेन्डमा, गुरुङले १ घण्टा ४ मिनेट २० सेकेन्ड र डुम्राकोटीले १ घण्टा ९ मिनेट ५६ सेकेण्डमा पार गरिन् । उनीहरूले क्रमशः ५ हजार, ३ हजार र २ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।

सोही अवसरमा भाले छोप्ने प्रतियोगिता, गुलेली हान्ने प्रतियोगिता लगायत विभिन्न सांस्कृतिक कार्यक्रम सम्पन्न भएका थिए ।
प्रतियोगितामा विजेता भएका धावकहरूलाई प्रतिनिधि सभा सदस्य एवं पुर्वमन्त्री शङ्कर भण्डारी, गण्डकी प्रदेश सभा सदस्य श्यामराजा महत, शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डित, उपमेयर खुमबहादुर विक राजु र शुक्लागण्डकी नगरपालिका २ का वडाध्यक्ष सुमनबहादुर रानाले संयुक्त रुपमा पुरस्कार वितरण गरेका थिए ।
यस अघि भूमिकोट दरबारको परिसरमा लाली गुराँसको फुलको बिरुवा रोपेर उद्घाटन गर्दै पूर्व बनमन्त्री एवं तनहुँ क्षेत्र नं. २ का सङ्घीय सांसद शकर भण्डारीले प्रकृतिको उपमा रहेको प्राकृतिक छटाले सुन्दरता बोकेका भुजिकोट (बाग भैरव), र मूमि कोट ( स्थानथोक) लाई पहाडकी रानीको रुपमा विकास गरी ऐतिहासिक कोटको संरक्षण आवश्यक रहेको र यसले हाम्रो संस्कृति, परम्परा, इतिहासको पहिचान दिएको बताउँदै यसले भविष्यका पुस्तालाई हाम्रो सम्पदाबारे जानकारी दिने र पर्यटनलाई प्रोत्साहन गराउँदै ऐतिहासिक बस्तु हाम्रो संस्कृति र परम्पराको पहिचान र पूर्वाधारको दृष्टिले अझै कार्य गर्न बाँकी रहेको बताए ।
भण्डारीले च्यावन ऋषिको पवित्र भूमि यस क्षेत्र र विश्वको शिरको रुपमा रहेको नेपाल सनातन धर्म राष्ट्रिय आवश्यकता रहेको जानकारी दिँदै पर्यटन प्रवद्र्धनका लागि यस क्षेत्रमा भएका आकर्षक घरवास (होम स्टे)लाई सशक्त रुपमा अगाडी बढाउन स्थानीयलाई आग्रह गर्दै, पूर्व ताप्लेजुङ देखि पश्चिमको दार्चुलाका धावक सहभागी भएको उकालो दौड प्रतियोगिताले पक्कै पनि देश भरीको प्रतिनिधित्व भएको बताउँदै, गाउँको आर्थिक, सामाजिक सुधारका लागि युवा वर्गले रचनात्मक भूमिका खेल्नु पर्नेमा जोड दिँदै उनले प्रतियोगिताका लागि आगामी वर्षदेखि सक्दो आर्थिक सहयोग दिने प्रतिबद्धता जनाए ।
गण्डकी प्रदेश सभा सदस्य श्यामराजा महतले ऐतिहासिक एवं पर्यटकीय हिसाबले अत्यन्तै महत्वपूर्ण स्थान भएकाले दौड प्रतियोगिताले यस प्रकारका कोट र स्थलको प्रचारप्रसार गर्नु र ओझेलमा परेका त्यस्ता ठाउँको पहिचानका लागि दौडले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
शुक्लागण्डकी नगरपालिका प्रमुख कृष्णराज पण्डितले स्थानीय उत्पादन, हिमालयको दृश्यावलोकन, ले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा ठुलो भूमिका खेल्ने बताउँदै दौड प्रतियोगिताले यस ठाउँको विकासमा टेवा पुग्ने विगत ६ वर्ष अघिदेखि शुरु भएको उकालो दौड प्रतियोगिता कोभिड–१९ का कारण रोकिएको र यस वर्ष देखि पुनः सञ्चालनमा आएकोले आगामी वर्ष देखि निरन्तर रुपमा प्रतियोगिता हुने बताए ।
कार्यक्रममा शुक्ला गण्डकी नगरपालिकाका उपमेयर खुमबहादुर विक (राजु) र शुक्लागण्डकी नगरपालिका २ का वडाध्यक्ष एवं उकालो दौड प्रतियोगिता संरक्षक सुमनबहादुर राना, वडा सदस्य, मानबहादुर थापा मगर, कार्यपालिका सदस्य रितु नेपाली, प्रवक्ता एवं सह– संयोजन तीर्थराज खनाल, प्रतियोगिताका संयोजक खेम गुरुङ, क्लबका अध्यक्ष अनिल खनाल, समाजसेवी नन्दलाल थापा लगायतले खेलको महत्व र ऐतिहासिक स्थलको विकास गर्नु पर्नेमा जोड दिएका थिए ।
प्रतिक्रिया राख्नुहोस्