तपाईँ सुन्दै हुनुहुन्छः

गायक हेम वाइबाको ‘बेंगुलुकि जाङ’ सार्वजनिक  

काठमाडौँ । लामो समयदेखि अमेरिका बस्दै आउनु भएका गायक हेम वाइबाले आफ्नो नयाँ साङ्गीतिक कोसेली ‘बेंगुलुकि जाङ’ सार्वजनिक गर्नुभएको छ ।

क्यालिफोर्निया राज्यमा बस्दै आउनु भएका गायक वाइबाले आफ्नै युट्युब च्यानल मार्फत तामाङ मौलिक सङ्गीत म्हेन्दोमायाँ लयमा आधारित यस गीत शनिवार सार्वजनिक गर्नुभएको हो । परदेशमा रहे पनि भाषा र संस्कृति मार्फत सङ्गीत क्षेत्रमा निरन्तर आफ्नो योगदानका लागि यस गीतलाई तयार पारिएको गायक वाइबाले बताउनुभयो । चिनु गाल्देनले गाउनु भएको यस गीतलाई गायक वाइबाले पुन: रेकर्ड गर्नुभएको हो ।

विशेष गरी काठमाडौँबाट उत्तर-पश्चिम क्षेत्रमा प्रचलित तामाङ मौलिक भाका म्हेन्दोमायाँ सङ्गीत क्षेत्रका ख्यातिप्राप्त गायकका रुपमा परिचित गायक वाइबाको तामाङ भाषामा रहेको यस गीतमा अमृत थोकर तामाङले शब्द रचना गर्नुभएको छ भने गायक वाईबा आफैले यस गीतमा लय भर्नु भएको छ । फणिन्द्र राईले सङ्गीत संयोजन गर्नु भएको यस गीतलाई सुमन खड्काले ध्वनि सम्पादन गर्नुभएको छ । गायक वाइबालाई महिला आवाजमा गायिका निर्मला घिसिङले साथ दिनुभएको छ । 

रसुवा जिल्लाको गत्लाङमा रहेको सुन्दर तामाङ बस्तीमा भिडियो खिचिएको यस गीतलाई निर्देशक रोशन फ्युबाले भिडियोतर्फ निर्देशन गर्नु भएको छ भने उमेश शाहले भिडियो खिच्नु भएको छ ।

भिडियोमा गत्लाङ क्षेत्रको प्राकृतिक सुन्दरताका साथै त्यस क्षेत्रको तामाङ बस्ती र तामाङ मौलिक सौन्दर्यलाई प्रस्तुत गरिएको छ ।  प्रतीक ङ्यासुर तामाङले कोरियोग्राफि गर्नुभएको यस गितमा रन्जिता तामाङ र सोनाम तामाङको अभिनय रहेको छ ।

पुरै गीतको लागि भिडियोको लिङ्कमा क्लिक गर्नुहोस्

प्रतिक्रिया राख्नुहोस्

Back to top button